काठमाडौँ : कांग्रेस नेता प्रकाशमान सिंहले आफुविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गरेका छन् । मोरङको विराटनगरमा गणेशमान सिंह स्मृति फाउण्डेसनले बुधबार गरेको सभामा बोल्दै नेता सिंहले पार्टीमा सभ्यताको बहस हुने गरे पनि आफुविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएर प्रस्तुत भएको आरोप लगाए ।

पार्टीका महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने भनी दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै नेता सिंहले आफुले ग्रासरुटबाट राजनीति र संगठन गरेर आएको भन्दै आफुविरुद्ध कुप्रचार नगर्न आग्रह गरे । ‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ,’ सिंहले भने, ‘अब मलाई नै कार्यकर्ताले चिन्दैन भनेर दुस्प्रचार भइरहेको छ ।’

उनले पार्टीमा पद लिने र जिम्मेवारीअनुसार काम गर्न नसक्नेहरु हाबी हुँदै गरेको आरोप लगाए । ‘मैले १२ औँ महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा धेरै मत ल्याएर महामन्त्री जितेको हुँ । मलाई कसैले चिन्दैन भन्नेहरुले मेरो इतिहास हेर्न अनुरोध गर्दछु,’ उनले भने ।

उनले आफू प्रकाशमान र मंगलादेवीको छोरा भएपनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको बताए । ‘हो, म प्रकाशमान र मंगलादेवीको छोरा हुँ, तर म पार्टी संकटमा हुँदा ज्यानलाई बाजी राखेर काम गरेको मान्छे पनि हुँ,’ नेता सिंहले भने ।

 

Your Views
Related News