काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणका लागि अवधारणापत्र सार्वजनिक गरेका छन्। कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका प्रवक्ता शर्माले कांग्रेसलाई ‘किशोर केन्द्रीय सदस्य’ बनाउने अवधारणापत्र अघि सारेका हुन्।

चितवनमा आयोजित कार्यक्रममा अघि सारेको अवधारणापत्रमा भनिएको छ, ‘युवा नेतृत्व विकासको प्रक्रिया र प्रविधिमैत्री अभियानलाई हामीले सँगै अघि बढाउनु छ। ‘किशोर केन्द्रीय सदस्य’को अवधारणा प्रस्ताव गर्दैछु। ४० वर्ष मुनिका क्रियाशिल सदस्यको संख्या करिब ४० प्रतिशत देखिएको छ कांग्रेसमा। त्यही मात्रामा प्रदेश र महाधिवेशनमा प्रतिनिधि चयन हुँदैछन्। किशोर पुस्ताको नेतृत्व विकासलाई बल पुर्‍याउन प्रदेश र केन्द्र दुवैको अधिवेशनमा सहभागी हुने ३० या ४० वर्षसम्मका प्रतिनिधिहरु उम्मेदवार बन्न पाउने र आपसमा प्रतिस्पर्धा गर्नेगरी केन्द्रीय समिति र प्रदेश समितिको १० प्रतिशतको संख्यालाई खुला प्रतिस्पर्धाबाट प्रदेश र केन्द्रको किशोर सदस्यका रूपमा ल्याउँदा त्यसले युवालाई प्रोत्साहित र प्रशिक्षित दुवै गर्नेछ।’

पहिलोपटक नमूना प्रयोग पश्चात अधिकतम दुई महाधिवेशनसम्मको अभ्यासले नेतृत्व विकासमा एक ढंगको योगदान पुग्ने प्रवक्ता शर्माको प्रस्ताव छ। पार्टीलाई डिजिटलाइज गर्ने प्रक्रिया पछिल्लो समय पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमार्फत् व्यवस्थित रुपले अघि बढाइएको उनले बताए।

पार्टीले आवश्यक ठहर गर्दा आन्तरिक चुनावका लागि ‘डिजिटल भोटिङ’को प्रविधि तयारी स्थितिमा रहेको उनले बताए। ‘पार्टीको नीति अधिवेशनमार्फत् अनलाइन सदस्यता खुला गर्ने निर्णय गरिसक्दा ‘अनलाइन सदस्यता आवेदन’ र वितरणका लागि प्रविधि तयारी स्थितिमा छ। तब लाखौं युवालाई अनलाइनबाट ‘नेपाली कांग्रेसको सदस्यता’ उपलब्ध गराउन सकिनेछ,’ उनले भने।

 

Your Views
Related News