एउटा ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न हुँदा क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा सङ्कटकाल घोषणा गरिएको छ।

विपद्‌बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्।

उक्त क्षेत्रमा आइतवार राति ठूलो तुफान आएको थियो। त्यसबाट हजारौँ मानिसहरू प्रभावित भएका छन्।

प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन्।

उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताए।

पहिरोमा परेर एक जना महिलाको ज्यान गएको छ भने दुई जना हराइरहेका छन्।

उक्त क्षेत्रबाट कैयौँ मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ।

तस्बिर स्रोत,REUTERS

त्यसले गर्दा केही पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको छ।

क्यानडाको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो पनि अवरुद्ध भएको छ।

सङ्कटकालीन अवस्थाले अधिकारीहरूलाई सडक र रेल सेवालाई पुन: सुरु गर्न थप शक्ति प्रदान गर्नेछ।

त्यहाँ एउटा “वायुमण्डलीय नदी” उत्पन्न भएको थियो।

त्यस्तो अवस्थामा उष्ण तटीय क्षेत्रबाट हावा चिसिन लागेको बाफ बोकेर ध्रुवीय क्षेत्रतर्फ बहन्छ।

उक्त अवस्था उत्पन्न हुँदा त्यस क्षेत्रमा एक महिनामा पर्ने औसत पानी चौबिस घण्टाभित्रै परेको थियो।

अधिकारीहरूले त्यस्तो अवस्था उत्पन्न हुनुमा जलवायु परिवर्तन कारक रहेको हुनसक्ने बताएका छन्।

तुफानको आवृत्तिमा जलवायु परिवर्तनको असर कति पर्छ भन्नेबारे अझै स्पष्ट छैन।

तर समुद्री सतहको तापक्रम बढ्दा त्यसको माथि पट्टिको हावालाई तातो बनाउँछ र तुफान तथा चक्रवात उत्पन्न गर्ने शक्तिलाई बढाइदिन्छ।

त्यसका कारण तुफान र चक्रवातहरू अझै सशक्त र बढी वर्षा गराउने खालका हुन्छन्।

 

Your Views
Related News