काठमाडौँ — बाइडेन प्रशासन आएलगत्तै सञ्चारकर्मीसँगको एक अन्तर्क्रिया कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई प्रश्न सोधिएको थियो, ‘अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्छ भन्ने आरोप छ नि ?’ जवाफमा बेरीले भनेका थिए, ‘अमेरिकाको हरेक मुलुकसँग आफ्नै किसिमको द्विपक्षीय सम्बन्ध छ । त्यही आधारमा अमेरिकाले सम्बन्ध विस्तार गर्छ । अरूको आँखाबाट हेर्छ भन्ने कुरामा सत्यता छैन ।’

सोही प्रश्न सन् २०१८ को अन्त्यमा अमेरिका भ्रमणमा जानुअघि तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीमाथि पनि तेर्सिएको थियो । अमेरिकाले नेपाललाई अन्य मुलुकको आँखाबाट हेर्नेमा विश्वास नभएको ज्ञवालीको भनाइ थियो । उनले भनेका थिए, ‘दक्षिण एसियामा अमेरिकाको सबैभन्दा ठूलो दूतावास नेपालमा छ । हामीबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध छ । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो मुलुक हो अमेरिका । त्यसैले अर्को मुलुकको आँखाबाट हेर्छ भन्न सक्दिनँ ।’ एमाले नेतासमेत रहेका पूर्वमन्त्री ज्ञवाली आफूले त्यस बेला दिएको अभिव्यक्ति अहिले आएर अझ प्रस्ट भएको मान्छन् ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने नेपाल भ्रमणका लागि बुधबार साँझ काठमाडौं आइपुगेका छन् । उपसहायकमन्त्री केल्ली किडरलिङ बिहीबार नेपाल आउँदै छिन् । सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीबार बेलुकी भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटवार्तामा द्विपक्षीय सम्बन्ध र एकअर्का मुलुकको चासोका विषयमा छलफल हुने जनाइएको छ ।

पूर्वमन्त्री ज्ञवाली अमेरिकाबाट बेला–बेला हुने गरेको भ्रमणले नेपालप्रतिको चासोलाई दर्शाएको मान्छन् । ‘यसलाई आफ्नो राष्ट्रिय हितमा कसरी उपयोग गर्ने भन्नेमा नेपालकै हातमा छ,’ उनले भने । बाइडेन प्रशासन आएपछि आफूले सुरुवातमा त्यहाँका उपविदेशमन्त्रीसँग कोभिड–१९ को संकट र अन्य विषयमा सहकार्यबारे छलफल गरेको पनि उनले स्मरण गरे । ज्ञवालीको बुझाइमा अहिले गठबन्धन सरकार आएपछि बाइडेन प्रशासन दुविधामा परेको हुन सक्छ । ‘एमसीसी सम्झौता कार्यान्वयनलाई लिएर सत्तारूढ दलका दुई नेता (प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल) ले फरक–फरक बोल्नुभएको छ । यसले अमेरिका दुविधामा छ,’ उनले भने । सरकारबाट परराष्ट्र सम्बन्ध, बाह्य नीति, सहयोग र मित्रराष्ट्रहरूसँगको सम्बन्धमा एकीकृत धारणा जानुपर्ने ज्ञवालीको भनाइ छ । उनले थपे, ‘दुविधामा पार्नु हुन्न ।’

सहायकमन्त्री लुले परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग शुक्रबार दिउँसो सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै विभिन्न दलका शीर्ष नेताहरूसँग पनि सिंहदरबारमै भेटवार्ता गर्ने तयारी छ । उपसहायकमन्त्री किडरलिङले पनि आफ्नो तीनदिने भ्रमणका दौरान नेपाली अधिकारी र नागरिक समाजका उदीयमान अगुवासँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । एक महिनाअघि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमण गरेकी थिइन् ।

पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेता प्रकाशशरण महतले नेपाललाई अमेरिकाले सन् १९५० देखि नै आर्थिक सहयोग गरिरहेको उल्लेख गर्दै दुई मुलुकबीच घनिष्ठ सम्बन्ध रहँदै आएको बताए । नेपाल र अमेरिकाबीच सोझो सम्बन्ध रहेको उनको भनाइ छ । महतले ५ सय मिलियन डलर अनुदानको एमसीसी सम्झौतालाई इंगित गर्दै अमेरिकाले सहयोग गर्दा विवाद गर्न नहुनेमा जोड दिए । उनले भने, ‘हामीले देशपिच्छे अलग मापदण्ड बनाउन हुन्न । अमेरिका, चीन, भारत वा अन्य कुनै पनि मुलुकबाट हामीले आर्थिक सहायता लिँदा एउटै मापदण्ड हुन आवश्यक हुन्छ । कसैले सहयोगको हात बढाउँदा त्यसलाई विवादित बनाउन हुन्न ।’

अमेरिकी दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि लु र किडरलिङको भ्रमण हुन लागेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीलाई उहाँहरूले सम्बोधन गर्नु हुनेछ ।’

पूर्वपरराष्ट्रमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिका एउटा शक्ति राष्ट्र भएको र उसले नेपाललाई पहिलेदेखि नै सहयोग गर्दै आएको उल्लेख गरे । श्रेष्ठ अमेरिकाले नेपालका तीन पक्षलाई ध्यान दिनुपर्ने मान्छन् । ‘पहिलो, अमेरिकाबाट मित्रताको निरन्तरता होस् । दोस्रो, बिनास्वार्थ विकास साझेदारमा निरन्तरता होस् । र, तेस्रो, भूराजनीतिलाई ख्यालमा राखेर हाम्रो राष्ट्रिय सार्वभौमिकतालाई असर गर्ने कुनै नकारात्मक भूमिका नखेलोस् भन्ने हो,’ उनले भने ।

कूटनीतिज्ञ दिनेश भट्टराईले नेपाल मामिलामा अमेरिकी चासो बढेको पछिल्ला भ्रमणहरूले देखाएको बताए । अमेरिकाले कुनै पनि मुलुकको आँखाबाट नेपाललाई हेरेको भन्न नमिल्ने उनको भनाइ छ ।

 

Your Views
Related News