काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीमा वायू प्रदूषणको कहर जारी छ । केन्द्र र राज्य सरकारले प्रदूषण नियन्त्रण गर्न सबै कमद चालिरहेका छन् । तर अवस्था सुध्रिने कुनै छनक देखिएको छैन ।

दिल्ली, गुडगाउँ, नोएडा, गाजियावाद र फरिदावादमा वायूको गुणस्तर लगातार खराब बन्दै गइरहेको छ । पञ्जाब, हरियाणा र उत्तर प्रदेशमा पराल पोल्दा, पटाका पड्काउँदा र पावर प्लान्ट एवं सवारी साधनबाट निस्कने धुँवाका कारण वायू प्रदूषण खराब बनेको बताइन्छ ।

वायूको गुणस्तर बिग्रँदै गएपछि मानिसहरू बिरामी हुन थालेको भारतीय समाचार माध्यमले जनाएका छन् । मानिसहरूले सास फेर्न गाह्रो भइरहेको र आँखा पोल्न थालेको गुनासो गर्न थालेका छन् ।

यसैबीच, बढ्दो वायू प्रदूषणबीच हावा शुद्ध पार्ने ‘एयर प्युरिफायर’ को माग ह्वात्तै बढेको समाचारमा उल्लेख छ । प्राप्त आंकडाअनुसार भारतभरको कुल मागमध्ये ७० प्रतिशत माग नयाँ दिल्लीबाट आउन थालेको छ ।

त्यस्तै, देशका अन्य क्षेत्रमा समेत एयर प्युरिफायरको माग बढेको र आगामी दिनमा अझै बढ्ने देखिन्छ । भारतमा हरेक वर्ष ४५० देखि ५०० करोड बराबरका एयर प्युरिफायर बिक्री हुन्छन् ।

रिसर्च एण्ड मार्केटका अनुसार भारतमा यो वर्ष एयर प्युरिफायरको बजार ८५ मिलियन डलर रहेको छ । २०२७ सम्ममा ५६९ मिलियन डलर बराबरका प्युरिफायर बिक्री हुने अनुमान गरिएको छ ।

 

Your Views
Related News