काठमाडौँ : कांग्रेसको महाधिवेशनका लागि अब २२ दिनमात्रै बाँकी छ । महाधिवेशनको मिति जति नजिकिँदै छ, नेतृत्वका आकांक्षीहरूबीच रस्साकसी पनि बढिरहेको छ । नेताहरूले पद माग्ने, बार्गेनिङ गर्ने र गुट रोज्ने–छाड्नेक्रम सुरू भइसकेको छ । पुनः सभापति बन्न चाहेका शेरबहादुर देउवा सहज परिस्थिति बनाउन प्रयासरत छन् । त्यस्तै, देउवाको विकल्प खोज्न लागि परेको इतर समूहले साझा उम्मेदवारको खोजी कायम राखेको छ । नेताहरूले एकले अर्कालाई उछिन्न आपसी घोचपेच र झटारो हान्न सुरू गरिसकेका छन् ।

नेतृत्वमा हुँदा देउवाले पार्टीभित्रको लोकतन्त्रलाई जोगाएर काम गर्न नसकेको भन्दै उनको विकल्प खोज्न साझा उम्मेदवारी दिनुपर्ने निष्कर्षमा पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूबीच नै अहिले यस्तो घोचपेच चलिरहेको छ । संस्थापक नेताद्वय बीपी कोइराला र गणेशमान सिंहको विरासत जोडिएको यो समूहबाट १३ औँ महाधिवेशनमा रामचन्द्र पौडेल सभापतिको उम्मेदवार थिए । त्यसपछि उनैले यो समूहको नेतृत्व गरेका छन् । उनी पुनः सभापतिको साझा उम्मेदवार बन्न चाहन्छन् ।

यही समूहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला पनि सभापतिका आकांक्षी छन् । सभापतिका यी चार आकांक्षी एकले अर्कालाई छोड्न तयार छैनन् । तर, साझा उम्मेदवार बन्नुपर्नेमा उनीहरू सबैको सहमति छ ।

समूहबाट साझा उम्मेदवार बने सभापति जित्न सकिने अन्दाजले सबै आकांक्षीहरू आफू नै साझा उम्मेदवार बन्नुपर्ने तर्क गरिरहेका छन् । आफूलाई केन्द्रमा राखेर साझा उम्मेदवार खोजी गर्ने उनीहरूको प्रतिस्पर्धाले व्यक्तिगतरुपमा आरोप–प्रत्यारोपको तहसम्म पुर्‍याएको छ । पछिल्लो समय वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासँग असन्तुष्ट बनेका नेता सिंहले अन्य आकांक्षीहरूलाई लक्षित गरेर प्रहार गरिरहेका छन् । त्यसैको जवाफमा महामन्त्री कोइरालाले सोमबार सर्लाहीको हरिवनमा बोल्दै सिंहबारे तिखो टिप्पणी गरेपछि सिंह–कोइरालाबीच वाकयुद्ध नै चलेको छ ।

यसैबीच ‘सिनियर’ भएकाले आफू नै साझा उम्मेदवार बन्नुपर्ने बताउँदै आएका वरिष्ठ नेता पौडेलले भने सिंहलाई भेटेर फकाउने प्रयास थालेका छन् । १३ औँ महाधिवेशनमा तत्कालीन महामन्त्री भए पनि पौडेललाई सहजै सभापतिमा सघाएका सिंह र पौडेलबीच यति दुरी बढेको थियो कि उनीहरूबीच धेरै दिनदेखि फोन संवादसमेत भएको थिएन । सिंहले अब पौडेलबाट पार्टी चल्न नसक्ने बताउँदै आएका छन् ।

पौडेलले साझा उम्मेदवारको खोजी गर्ने सन्दर्भमै गत १९ कात्तिकमा बोलाएको समूहको बैठकमा सिंह खबर गरेरै अनुपस्थित बसेका थिए । ‘म अब तपाईंले बोलाएको बैठकमा आउदिनँ । म तपाईंको समूहमा छैन,’ त्यसबेला सिंहले भनेको उदृत गर्दै उनीनिकट स्रोतले भन्यो । त्यसयता पौडेल र सिंहबीच दुरी बढेर आएको हो । नेता सिंह त्यसयता पौडेल र कोइरालासँगको सम्पर्क छाडेर आफू सभापतिको उम्मेदवार भन्दै हिँडेका छन् ।

अघिल्लो महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलाले टिम छाड्दा सभापतिमा पराजय भोगेका पौडेल पुनः सिंहले छाड्दा हुन सक्ने क्षतिको अन्दाज गर्दै उनलाई रिझाउन लागिपरेका हुन् । सिंहलाई रिझाउन वरिष्ठ नेता पौडेल बिहीबार बिहान खबरै नगरी चाक्सीबारी पुगेका थिए । करिब ८ बजे सिंह निवास पुगेका उनले करिब डेढ घण्टा छलफल गरे । कतिपय नेताहरूले कोइराला परिवारको एकता हुने संकेतले पौडेल र सिंहको भेट जुराएको समेत टिप्पणी गरेका छन् । सिंह र पौडेल निकट स्रोतले भने भेटमा सामान्य कुराकानीमात्रै भएको दाबी गरेको छ ।

स्रोतका अनुसार भेटमा पौडेलले सिंहसँग अन्तिम पटक आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘म अघिल्लो पटकको घाइते हुँ । एकपटक मलाई सबैले सहयोग गर्नुपर्छ । महाधिवेशनलगत्तै आमनिर्वाचन सुरू हुन्छ । म तीनै तहको चुनावमा पार्टीलाई जिताउँछु, त्यसपछि कसले जिम्मा लिने हो ? पार्टी हस्तान्तरण गर्छु, र विश्राम लिन्छु,’ पौडेलले भनेका थिए ।

जवाफमा सिंहले पौडेललाई अब उनीबाट पार्टी चल्न नसक्ने भन्दै सम्मानजनक विश्राम लिन आग्रह गरेका थिए । ‘रामचन्द्र दाइ आउनुभएको थियो, मैले तपाईं अब अभिभावक भएर बस्नुस् भनेँ,’ सिंहले बिहीबार सम्पादकहरूसँगको छलफलमा भने, ‘मैले तयारी अगाडि बढाइसकेँ । अब म पछि हट्दिनँ भनेको छु ।’

सिंहले पौडेललाई आफू पावर सेयरिङ गर्न तयार भएको प्रस्ताव गरेका थिए । ‘तपाईंलाई १३ औँ महाधिवेशनमा पनि सघाएको हुँ । सधैँ मैले मात्रै त्याग गर्ने भन्ने हुँदैन । अब सघाउने पालो तपाईंहरूको हो । यो पटक मलाई तपाईंहरूले छाडिदिनुपर्छ,’ सिंहले भनेको उदृत गर्दै उनीनिकट स्रोतले भन्यो ।

सिंह १२ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए । उनले १३ औँमा पौडेललाई सघाए, महामन्त्रीमा शशांक कोइरालाको प्रस्तावक नै बसे । पौडेलले सभापति जिते उपसभापति बनाउने आश्वासन पाएका सिंहले पौडेल सभापति पराजित भएपछि त्यसयता समूहमै आफूमाथि अन्याय भएको गुनासो गर्छन् । संसदीय दलको नेताका लागि भएको निर्वाचनमा महामन्त्री कोइरालाले आफूलाई असहयोग गरेको सिंहको आरोप छ । ‘सर्वसम्मत भए आफू उम्मेदवार, नभए चुनाव लड्ने हिम्मत नगर्ने अनि चुनाव लड्न प्रकाशमानलाई अघि सारेर भोट कता हालेको हो ? ठेगान नहुने । पार्टीको निर्वाचित महामन्त्री भएर जिम्मेवारी अनुसारको काम नगर्ने, फेरि पदचाहिँ चाहिने ?,’ आफूनिकटहरूलाई सिंहले भन्ने गरेको उदृत गर्दै स्रोतले इकान्तिपुरसँग भन्यो ।

पौडेल–सिंह दुरी बढ्नुको अर्को कारण पछिल्लो मन्त्रिपरिषद् विस्तार पनि हो । मन्त्रिपरिषद्मा सिंहले आफ्नो सिफारिसमा राजन केसीलाई मन्त्री बनाउन चाहेका थिए । तर, पौडेलले कोइरालासँग मिलेर समूहबाट मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाए ।

सभापति एवम् प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमा भएका राजनीतिक दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएकोमा पनि सिंहको असन्तुष्टि छ । मन्त्री बनाउँदा र राजनीतिक समिति गठन गर्दा पनि पौडेलले समूहमा कुनै छलफल नगरेको सिंहले भन्दै आएका छन् ।

‘कांग्रेसले सरकार चलाइरहेको छ, सरकारभन्दा माथि उच्चस्तरीय संयन्त्र किन चाहियो ? यसको अर्थ के हो ?,’ बिहीबार सम्पादकहरूसँगको छलफलमा सिंहले प्रश्न गर्दै भने, ‘कांग्रेसले आफैँ सरकारको नेतृत्व गर्न सक्छ कि सक्दैन ? कि कम्युनिष्ट पार्टीहरुले कांग्रेसको सरकार चलाउने हो ?’ यसअघि भदौ १७ गते सानेपामा पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता पौडेलले समूहबाट साझा उम्मेदवार बनाउने घोषणा गरेका थिए ।

 

Your Views
Related News