काठमाडौं : एमाले महाधिवेशन आउन एक साता पनि बाँकी छैन। हालसम्म कुनै नेताले आफू कुन पदमा लड्ने भनेर औपचारिक रूपमा मुख खोल्न सकेका छैनन्। अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने त परको कुरा भएको छ। सबै आंकाक्षी अध्यक्ष ओलीकै मुख ताकिरहेका छन्। माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी छोडेपछि एमालेमा पुनः ‘वान म्यान लिडरसिप’ को विकास भएको छ। अध्यक्ष ओली निर्विकल्प नेताका रूपमा स्थापित भएका छन्।

ओलीको चहानाबिना कोही पनि नेताले पद पाउने सम्भवाना छैन। एकताको सन्देश दिनकै लागि एमालेले सहमतिको अभ्यास गरिरहेको छ। तर, सहमतिको मोडल कस्तो हुने भन्ने विषयमा गौण नै छ। ‘उहाँ (ओली) कसैको कुरा नसुनी आफैं गर्ने व्यक्ति हो। सहमतिको मोडलको विषयमा कहीँ भन्नु भएको छैन,’ एक उनी निकट नेताले भने।

नयाँ विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहित १५ पदाधिकारीको व्यवस्था छ। यी पदमा उम्मेदवार दिने विषयमा सबै नेता मौन छन्। ओलीसँग हेरक विषयमा असहमति प्रकट गर्ने उपाध्यक्ष भीम रावललेसमेत कुन पदमा लड्ने भन्न घोषणा गरेका छैनन्। स्थायी समिति सदस्य  सुवास नेम्वाङले सहमतिको विषयमा नै अनौपचारिक प्रयास र छलफल भइरहेकाले उम्मेदवारीको विषय नआएको बताए।

बालकोटमा आकांक्षीको लाइन 

अध्यक्ष ओली निवास बालकोटमा आकांक्षीको लाइन नै लाग्ने गरेको छ। उनी निकटदेखि १० बुँदे सहमति पक्षधर तथा माओवादीबाट आएका नेता बालकोट धाइरहेका छन्। आकांक्षीहरूलाई ओलीले माक्सवाद पढाएर पठाउने गरेको एक नेता बताउँछन्। १० बुँदे सहमतिको आधारमा एमालेमै बसेकालाई ओली भन्छन्, ‘म पनि हिजोको कुरा लिन्न, तपाईंहरूले पनि लिनु हुन्न, अब यो पार्टी चलाउने तपाईंहरूले नै हो।’ माओवादीबाट आएकालाई भने, ‘संकटका बेला मलाई साथ दिनुभयो, तपाईंहरूको योगदान यो पार्टीलाई ठूलो छ, अब अझ ठूलो हुनेछ,’ भन्ने गरेका छन्। घरमा आउने कसैलाई अध्यक्ष ओलीले आश्वासन दिएका छैनन्। सर्वसम्मत हुन सक्ने भनेर नै धेरै नेताहरू नबोलेको पदाधिकारीका आकांक्षी लालबाबु पण्डित बताउँछन्। ‘मेरो पनि अध्यक्षसँग छोटो भेट भयो,’ उनले भने, ‘मेरो सन्दर्भमा राम्रो कुरा गर्नुभयो।’

तीन जिल्लामा प्रतिनिधि विवाद
१० जिल्लामा महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छ। कैलाली, सुनसरी र बझाङमा विवाद भएर रोकिएको छ। ताप्लेजुङ, पाँचथर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट तथा बाजुरा र कैलालीमा प्रतिनिधि छनौटले पूर्णता पाउन बाँकी छ।

कैलालीबाट दुवै पक्षले फरक–फरक नाम पठाएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। निर्वाचन क्षेत्र २ मा विवाद देखिएको छ। सर्वसम्मत भनि छनौट गरिएका महाधिवेशन प्रतिनिधिहरू उपाध्यक्ष भीम रावल निकटका नेता कार्यकर्ताले नमानेपछि त्यहाँ विवाद भएको हो। लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले जिल्ला अध्यक्ष रतन थापाले एकलौटी रूपमा प्रतिनिधि छनौट गरेको आरोप लगाएका छन्। बजगाईं उपाध्यक्ष रावल निकट हुन्।

सुनसरीमा संस्थापन र इतर पक्षबीच विवाद हुँदा छनौट प्रक्रिया लम्बिएको छ। ४२ जना प्रतिनिधि छनौटामा लागि मंगलबार निर्वाचन तोकिएको भए पनि सहमति गराउने नाममा निर्वाचन स्थगित गरिएको छ। नेताहरूले निर्वाचनको तयारी नै नगरेका कारण प्रतिनिधि छनौट अन्यौलमा परेको एमाले इटहरी उपमहानगर कमिटीका सदस्य ऋषि नेपालले बताए।  एमालेमा १९९९ जना महाधिवेशन प्रतिनिधि छनौट हुनेछन्।

 

Your Views
Related News