काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनपछि आगामी निर्वाचन केन्द्रित रणनीति बनाउनुपर्ने बताएका छन्।  काठमाडौं क्षेत्र नं ५ को प्रदेश क र ख का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी वर्ष स्थानीय तह, प्रदेश सभा र संघीय संसदको प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने बताएका हुन्।

सहमहामन्त्री डा.महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने बताए। उनले भने,  ‘यो पार्टीको अधिवेशन हो। नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भैरहेको छ। तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा त अन्य राजनीतिक दलसँग गर्नुपर्दछ।’ उनले भने, ‘निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरु लगायत  निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आउने निर्वाचनमा पार्टीलाई जिताउन लगाउनु पर्दछ।’

डा. महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रुपमा लिन आग्रह गरे।  निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरुबीच रहेको सद्भाव र एकता पूर्ववत रहनुपर्ने धारणा राखे। आज देशभरका ४६ जिल्लामा कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ।

 

Your Views
Related News