उदयपुर : नेपाली कांग्रेस उदयपुरमा संस्थापन (देउवा) पक्षको वर्चश्व देखिएको छ। १४ महाधिवेशनलाई लक्षित गरी बुधबार सम्पन्न क्षेत्रीय अधिवेशनमा जिल्लाका दुईवटै क्षेत्रमा संस्थापन पक्ष विजयी भएको हो । राति अबेर आएको मतपरिणामअनुसार क्षेत्र नम्बर १ मा देउवा समूहका चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राई र २ नम्बरमा रामकुमार राई विजयी भए । खगेन्द्रले प्रतिस्पर्धी बसन्त बस्नेतलाई १० मतको झिनो अन्तरले पछि पारे ।

राईले ३४४ र बस्नेतले ३३४ मत प्राप्त गरे । त्यसैगरी क्षेत्र नम्बर २ मा रामकुमारले प्रतिष्प्रधी रामकुमार खत्रीलाई १५ मतले पछि पारे । प्राप्त नतिजाअनुसार राईले ३१९ र खत्रीले ३०४ मत प्राप्त गरे । दुबै क्षेत्रमा महाधिवेशन प्रतिनिधिबाहेक देउवा पक्षको प्यानल नै विजयी भएको छ ।

८ गाउँपालिका र ८ नगरपालिका गरी १६ स्थानीय तह रहेको उदयपुरमा बेलका, चौदण्डिगढी, त्रियुगा नगरपालिका र लिम्चुङ्गबुङ्ग गाउँपालिकामा देउवा पक्ष र कटारी नगरपालिका र रौतामाई गाउँपालिकामा रामचन्द्र पौडेल निकट सभापति विजयी भएका छन् । ताप्लि र उदयपुरगढी गाउँपालिकामा सर्वसहमत नेतृत्व चयन भएकाले दुबै सभापति हालसम्म कुनै पक्षमा खुलेका छैनन् ।

त्यसैगरी ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३ वटा देउवा पक्ष र १ वटा पौडेल पक्षबाट निर्वाचित भएका छन् । देउवा र पौडेल पक्षबीच निकै प्रतिष्पर्धा रहेको उदयपुरमा पार्टी सभापतिका लागि पौडेल पक्षबाट वर्तमान सभापति विदुर बस्नेत र देउवा पक्षबाट प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री तथा पूर्वपार्टी सभापति हिमाल कार्की मैदानमा छन् ।

सत्तामा रहेका परराष्टमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य डाक्टर नारायण खड्का र प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा पूर्वपार्टी सभापति हिमाल कार्की देउवा पक्षमा खुलेका कारण निर्वाचनमा पौडेल पक्षलाई निकै सकस बनेको कार्यकर्ताको विश्लेषण छ ।

नेपाली कांग्रेसको सम्पन्न क्षेत्रीय अधिवेशनमा क्षेत्र नं १ बाट विजयी चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राई (कालो कोट, टोपी र एउटा माला लगाएका) र क्षेत्र नम्बर २ बाट विजयी रामकुमार राई (माला लगाएका)

 

Your Views
Related News