बीस ओभरको विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न नेपाल फेरि एक पटक असफल भएको छ।

फाइनलसरह मानिएको लीग चरणको अन्तिम खेलमा आइतवार यूएईसँग ४८ रनले पराजित भएसँगै नेपालको ग्लोबल क्वालिफायरको ढोका बन्द भएको हो।

यूएईमा सञ्चालन भइरहेको प्रतियोगिताको अन्तिम तथा निर्णायक मानिएको खेलमा नेपाललाई १० बल बाँकी रहँदै जित्नुपर्ने बाध्यता थियो।

त्यसो गर्न सफल भएको खण्डमा मात्रै नेपाल रन रेटको आधारमा यूएईलाई पछि पार्दै लीग तालिकाको शीर्ष स्थानमा पुग्न सक्थ्यो।

तर नेपालको रणनीति मैदानमा कहीँकतै लागु भएको देखिएन। टस जित्नुबाहेक यूएईको मैदानमा नेपालको पक्षमा अरू केही हुन सकेन।

हारसँगै नेपाल ६ टोली सम्मिलित आईसीसी टी-२० विमिन्स एशिया कप क्षेत्रीय छनोटको तेस्रो स्थानमा सीमित हुन पुगेको छ।

टी-२० विश्वकपको एशियाली क्षेत्रीय छनोटमा नेपालले पाँच खेलमध्ये दुईमा हार अनि तीन खेलमा जित हात पार्न सक्यो।

ग्लोबल क्वालिफायरमा छानिएको यूएईले सबै पाँच खेल जित्न सफल भयो। हारको अर्थ नेपाली महिला क्रिकेट टोलीको विकासको गतिमै व्यापक असर पर्ने देखिन्छ।

आइतवारको खेल जितेको अवस्थामा ग्लोबल क्वालिफायरको यात्रामा व्यस्त हुन पाउने टोली अब अर्को खेलको अवसरको लागि वर्षौँ कुर्नुपर्ने अवस्थामा पुगेको छ।

कमजोर फील्डिङ

टस जितेर नेपालले बिहानीको ओसिलो मैदानमा फील्डिङ गर्ने निर्णय गरेको थियो। तर टोलीका खेलाडीहरूले त्यसको फाइदा उठाउन सकेनन्।

यूएईले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १२७ रनको विशाल स्कोर बनायो।

पहिलो ओभरमै सरिता मगरले ईशा ओझालाई बोल्ड गर्दा नेपालले राम्रो खेल्छ कि भन्ने लागेको थियो। तर त्यसपछि भने नेपाली खेलाडीहरू लयमा देखिएनन्।

विपक्षी बोर्डमा यति धेरै रन बन्नुमा नेपाली खेलाडीहरूको कमजोर फील्डिङ प्रमुख कारण भएको देखियो।

यूएईकी भरपर्दा ओपनर तीर्था सतीशले अविजित ४७ रन बनाइन्। सो क्रममा उनले दुई पटक जीवनदान पाएकी थिइन्।

तेह्र ओभरको खेल चलिरहेको बेला ३२ रनमा खेलिरहेकी तीर्थाको क्याच सरिता मगरले फुत्काउन पुगेकी थिइन्।

अठारौँ ओभरमा उनी सरिता रानामगरको बलमा बोल्ड हुनुअघि तीर्थाले टोलीलाई १११ रनको सुरक्षित स्कोरतिर लान सफल भइसकेकी थिइन्।

अर्को ओभरमा रनको खाता खोल्न नसकेकी बेला चामिनी सेनेभीरत्नको क्याच लङअनमा कविता जोशीले छोडेकी थिइन्। उनै चामिनीले अन्तिम ओभरसम्म खेलेर ३६ बलमा ५२ रन बनाइन्।

फील्डिङमा निकै कमजोर देखिएका नेपाली खेलाडीहरूले मैदानमा रन रोक्न नसक्दा झन्डै २० रन बढी स्कोर बोर्डमा चढेको थियो। कभिसा इगोडागले २२ रन बनाएकी थिइन्।

ब्याटिङमा पनि देखिएन लय

महत्त्वपूर्ण खेलमा नेपालको ब्याटिङ पनि कमजोर देखियो।

जारी प्रतियोगितामा नेपालबाट सबैभन्दा राम्रो ब्याटिङ गरिरहेकी सीना रानामगर तेस्रो ओभरमा आउट भएसँगै नेपाली ब्याटिङ स्थिर रहन सकेन।

उनले तीन चौकाको सहयोगले आठ बलमा १३ रन बनाएकी थिइन्। कप्तान रुविना क्षेत्री दुई रन, कविता कुँवरले चार रन र अर्की भरपर्दी खेलाडी इन्दु बर्माले १५ रन बनाएर आउट भएपछि खेल यूएईको नियन्त्रणमा पुग्यो।

त्यसपछि लगातार जसो नेपाली विकेट खस्न थाल्यो। सरिता मगर र काजल श्रेष्ठले आठ/आठ रन जोडे। दुवैलाई समिरा धरनिधरकाले बोल्ड गरेकी थिइन्।

त्यस्तै अप्सरी बेगमले चार र कविता जोशीले एक रन बनाए। सीता र इन्दुबाहेक कुनै खेलाडीले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन्।

नेपाली टोली १९.४ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो। समिराले यूएईको तर्फबाट सबैभन्दा बढी चार विकेट लिइन्।

अन्तिम अवसर

नेपालले टी२० विश्वकपको ग्लोबल क्वालिफायर गुमाएसँगै कतिपय नेपाली खेलाडीहरूको करीअर ग्लोबल क्वालिफायर खेल्न नपाईकनै अन्त्य हुने देखिएको छ।

एशिया छनोटमा शीर्ष स्थान प्राप्त गर्ने टोलीले मात्र ग्लोबल क्वालिफायर खेल्न पाउने नियम छ। सन् २०१८ मा दुई टोलीलाई ग्लोबल क्वालिफायर खेल्ने प्रावधान राखिएको थियो।

तर त्यतिबेला थाईल्यान्ड पहिलो र यूएई दोस्रो हुँदा नेपालको स्वर्ण मौका गुमेको थियो। त्यतिबेला पनि यूएईसँगको हार नै नेपाल बाहिरिनुको कारण बनेको थियो।

यसपालि थाईल्यान्डले एशिया छनोट खेल्नु परेन। तर नेपालले फेरि यूएईको तगारो हटाउन सकेन। हङ्‍कङसँग पहिलो खेलमा पराजित हुनु नै नेपालको दुर्भाग्य बन्यो।

करीअरको उत्तरार्धमा रहेको हुनाले अब हुने एशिया छनोटमा अहिले टोलीमा खेलिरहेका थुप्रै खेलाडीहरू नहुन सक्छन्।

 

Your Views
Related News