चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारी चयनमा सहमति जुट्न नसके पछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।

आइतबार दिनभरि सहमतिको प्रयास गरिएको बताइएको थियो।

यही प्रयासका कारण बन्द सत्र पनि राती १० बजेपछि मात्र सुरु गरिएको थियो।

बन्द सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय सदस्य र १९ जना पदाधिकारीहरूको नाम प्रस्ताव गरेकोका थिए। तर सो प्रस्तावमा अध्यक्षका दाबेदार भीम रावलले आपत्ति जनाएपछि ओली निर्वाचनमा जान सहमत भएका हुन्।

चुनाव

ओलीको भनाइ उद्धृत गर्दै एक महाधिवेशन प्रतिनिधिले भने, “सहमतिका लागि नामहरू प्रस्ताव गरिएको छ। सहमति नगर्ने हो भने चुनावमा जान पाइन्छ।”

राती प्रकाशन गरिएको निर्वाचन कार्यतालिका अनुसार सोमवार बिहान ८ बजेदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुनेछ भने साँझ ९ बजे निर्वाचन सुरु हुनेछ।

 

प्रस्तावित नाम

ओलीले प्रस्ताव गरेका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा विष्णु पौडेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई प्रस्ताव गरिएको छ।

त्यस्तै महासचिवमा शङ्कर पोखेरललाई प्रस्ताव गरिएको छ भने उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई प्रस्ताव गरिएको छ।

सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महाशेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्ताव गरिएको छ।

तस्बिर स्रोत, RSS

होला त निर्वाचन?

महाधिवेशन निर्वाचन आयोगले सोमवार राती ९ बजेदेखि अर्को दिन बिहान ३ बजे सम्म नर्वाचन गर्ने कार्यतालिका निकालेको छ।

महाधिवेशन प्रतिनिधिहरूका लागि होटेल तथा बासको व्यवस्था भने सोमवार बिहान सम्मको लागि मात्र गरिएको।

त्यसैले राती हुने मतदान प्रक्रियामा प्रतिनिधिहरू सहभागी हुन्छन् वा हुन्नन् भन्ने अझै निश्चित नभएको महाधिवेशन प्रतिनिधिहरू बताउँछन्।

अध्यक्ष ओलीले प्रस्ताव गरेका नाममा मुख्य गरेर भीम रावल र घनश्याम भुसालको चर्को असन्तुष्टि देखिएको छ।

ओलीकै निकट भनिने नेता विष्णु पौडेलले पनि चाहना गरे अनुसारको पद पाएका छैनन्। तर उनी निर्वाचन प्रक्रियामा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने बारेमा उनले अहिलेसम्म केही बताएका छैनन्।

१० बुँदे सहमति गर्नेहरू को-को छुटे?

माधव कुमार नेपालले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गरेर एमालेमै बसेका १० जना नेता मध्ये भीम रावल र घनश्याम भुसालसँगै भीम आचार्य र रघुजी पन्तले पनि जिम्मेवारी पाएका छैनन्।

त्यस्तै माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरू मध्ये प्रभु शाह र मणि थापाले पनि पदाधिकारीमा जिम्मेवारी पाएका छैनन्।

 

Your Views
Related News