विराटनगर : नेपाली कांग्रेस मोरङको नयाँ नेतृत्व चयनका लागि मंगलबार पुनः मतदान हुँदैछ। विराटनगर महानगरपालिका–३ शंकरपुरस्थित मैदानमा अपरान्ह १२ बजेबाट मतदान सुरु हुने भएको हो। मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ।

दोस्रो पटक मतदानको तयारी भइरहेका बेला पार्टीको केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालाविरुद्ध संस्थापन र संस्थापनइतर समूहबीच मोर्चाबन्दी भएको छ। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार मोरङको नेतृत्व चयनका लागि भएको निर्वाचनमा कोइरालानिकट डिगबहादुर लिम्बू, पार्टी सभापति शेरबहादुर देउवा एवं संस्थापन पक्षीय दिलीप गच्छदार र कृष्णप्रसाद सिटौलानिकट यदु विष्ट उम्मेदवार बनेका थिए। तर लिम्बू, गच्छदार र विष्ट कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो पटक मतदान हुन लागेको हो।

मतदानअघि कोइराला पक्षबाट जिल्ला सभापतिका उम्मेदवार बनेका लिम्बूविरुद्ध मोर्चाबन्दी भएको छ। दोस्रो निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिएका सिटौला पक्षीय विष्टले सोमबारसाँझ संस्थापन समूहका उम्मेदवार गच्छदारलाई समर्थनको घोषणा गरेका छन्।

पहिलो निर्वाचनको मतपरिणाम अनुसार तेस्रो बनेका विष्ट यसअघि कोइरालानिकट मानिन्थे। प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री एवं कोइरालानिकट नेता केदार कार्कीले मोर्चाबन्दी अस्वभाविक भएको बताए। उनले विष्ट गच्छदारको पक्षमा खुल्नु शंकास्पद रहेको बताए। रातारात कित्ता परिवर्तन हुँदा आर्थिक चलखेल भएको हुनसक्ने कार्कीको आशंका छ। तर मतदाताले विवेक प्रयोग गरेर कोइराला पक्षबाट उम्मेदवार बनेका लिम्बूलाई विजयी गराउने दाबी उनको छ।

 

Your Views
Related News