काठमाडौं: सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै विदेश यात्रा नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको संक्रमणलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अपिल गरेको हो।

केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट (सार्स कोभ-२ भेरियएन्ट ओमिक्रोन) (बी.१.१.५२९) विश्वका अन्य मुलुकमा पनि तीव्ररुपमा फैलिरहेको छ।

विश्व स्वास्थ्य संगठनले यो भेरिएण्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले हालसम्म सो भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए।

यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूमा असर पार्ने बताइएको छ। त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

 

Your Views
Related News