काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कायममुकायम प्रधानन्यायाधीश नतोकिदिँदा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न अन्योल भएको छ। प्रधानन्यायाधीश जबरा कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल भर्ना भएपछि मुद्दाको पेसी प्रभावित भएको हो। जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचारत छन्।

बुधबार गोला प्रकियाबाट पेसी तोकिएपनि कायममुकायम प्रधानन्यायाधीश नहुँदा सुनुवाइ प्रभावित भएको थियो। त्यस दिन २ एकलसहित ११ इजलास तोकिए पनि मुद्दाको सुनुवाइ भने भएन। नेपालको संविधानको धारा १२९(६) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले सर्वोच्च अदालतमा उपस्थित हुन नसकेमा वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भइ काम गर्ने व्यवस्था छ। तर अस्पतालमा भर्ना भएका जबराले बिदा लिएका छन् न त कुनै न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीश तोकेका छन्।

बुधबार सुनुवाइ प्रभावित भएपछि आगामी कदमबारे न्यायाधीश र नेपाल बार तथा सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच छलफल गर्ने निर्णय गरेका थिए। अहिले प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीश र बारका पदाधिकारीबीच छलफल भइरहेको छ।

यता सत्ता गठबन्धनको बैठकले प्रधानन्यायाधीशलाई बिदामा बस्न सुझाव दिएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जबरालाई बिदामा बस्न सुझाव दिएको हो। प्रधानन्यायाधीशको राजीनामा माग्दै लामो समयदेखि कानुन व्यवसायी आन्दोलित छन्।

 

Your Views
Related News