काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदभार ग्रहण गर्दैछन्। शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा पदभार गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अध्यक्ष केपी शर्मा ओली ज्यूले आज पार्टी कार्यालयमा पदभार ग्रहण गर्नुहुन्छ। दिउँसो १ बजे गर्ने कार्यक्रम तय भएको छ।’

एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा ओली निर्वाचित भएका हुन्। ओलीले १,८३७ र रावलले २२३ मत प्राप्त गरेका थिए। उनी एमालेमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। ओलीले आफूलाई मात्रै जिताएनन्, सक्रियतापूर्वक साथ दिने नेतालाई पनि टिममा ल्याए।

यसअघि नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए।

वि.सं. २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए उनी, त्यही वर्ष उनी जेलसमेत परेका थिए।

ओली तत्कालीन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए। ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए।

विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन्। दोस्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए।

को-को छन् पदाधिकारीमा ?

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्बीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसहमतिले निर्वाचित भएका थिए।

त्यस्तै आज बिहान भएको चुनावमा उपाध्यक्षमा अष्टलक्ष्कीम शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा बादल निर्वाचित भएका थिए। उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका थिए।

त्यस्तै सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भएका छन्। सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंकप्रसाद कार्की पराजित भएका थिए।

 

Your Views
Related News