काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विशेष निर्देशनपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निशुल्क हुने भएको छ।

नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगैं सबै सरकारी अस्पतालबाट  निशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो।

कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिम समेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले मंसिर १९ गतेदेखि यो व्यवस्था लागू गर्न लागेको हो।

निर्देशकका रुपमा डा. मनिषा रावलले जिम्मेवारी सम्हालेसँगै मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि यो व्यवस्था गर्न लागिएको हो। यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले नै सहयोग गर्ने भएको छ।

अस्पतालका तर्फबाट निर्देशक डा. रावलले मंरसिर १५ गते नै पत्र लेखेर अवगत गराइसकेका छन्। सो अस्पतालमा इमरजेन्सी विभागमा आएका विरामीहरुको पछिल्लो २४ घण्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निशुल्क हुने व्यववस्था गरिएको छ।

निशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसीजी, टिकटलगायतका सुविधा र २४ घण्टा भित्रको परीक्षण सुविधा र लाग्ने औषधिसमेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ।

 

Your Views
Related News