विराटनगर : नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन्। पार्टीको केन्द्रीय राजनीतिबाट प्रदेशमा झरेका संस्थापनइतर समूहका नेता गुरुराज घिमिरेलाई २ मतअन्तरले पराजित गर्दै झापा कांग्रेसका पूर्वसभापति थापाले प्रदेशमा पार्टीको पहिलो नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको साथ पाएर सभापतिको उम्मेदवार बनेका थापालाई पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको पनि समर्थन थियो।

निर्वाचनबाट प्राप्त अन्तिम मतपरिणाम अनुसार निर्वाचित बनेका थापाले ८ सय ४४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी घिमिरेले ८ सय ४२ मत ल्याए। वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट घिमिरेलाई डा. शेखर कोइरालाको पनि साथ थियो। ३ जनाबाहेक पदाधिकारीमा पनि संस्थापन पक्षकै उम्मेदवार विजयी भएका छन्। पार्टीको प्रदेश महामन्त्रीमा विजयी भएका उमेश थापा र सह–महामन्त्रीमा निर्वाचित खड्गबहादुर फागो तथा विनोद बस्नेत इतर समूहका हुन्।

पार्टीको प्रदेश उप–सभापतिमा टंकप्रसाद राई र रमेशजंग रायमाझी विजयी भएका छन्। राईले ८ सय ४७ र रायमाझीले ८ सय ९० मत ल्याए। उप–सभापतिका अन्य उम्मेदवार गोविन्दप्रसाद ढुंगानाले ७ सय ६५ र विश्वनाथ रिजाल (त्रिलोचन)ले ६ सय ६९ मत मात्रै ल्याए।
महामन्त्रीमा विजयी बनेका उमेश थापाले ८ सय २३ र भूपेन्द्र राईले ८ सय २४ मत प्राप्त गरे। महामन्त्रीका अन्य उम्मेदवारहरु दीपनकुमार श्रेष्ठले ७ सय ६४ र पदमसुन्दर पालुङ्गवाले ८ सय ७ मत ल्याएका छन्।
सह–महामन्त्रीमा विजयी फागोले भने पदाधिकारीमध्ये सर्वाधिक मत प्राप्त गरेका छन्। मोरङको उर्लाबारी नगरपालिकाका मेयर उनी १ हजार २६ मत ल्याएर विजयी बनेका हुन्। विनोदकुमार बस्नेत ७ सय ४७ मत प्राप्त गर्दै पार्टीको प्रदेश सह–महामन्त्री बनेका छन्।
अन्य प्रतिस्पर्धीमध्ये रोहितकुमार साहले ६ सय ६५, वीरकाजी राईले ६ सय ४७ र शुभचन्द्र राईले ८४ मत मात्रै ल्याउन सके। महिला कोटाबाट सह–महामन्त्रीमा निर्वाचित प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याइन। उनीसँग प्रतिस्पर्धामा उत्रिएकी उम्मेदवार सीता कार्कीले ७ सय ३३ मत मात्रै प्राप्त गरिन्।

पार्टीको १४औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि गत शनिबार निर्वाचन भएको थियो। आइतबार राति अवेर मतगणना सकिएको हो। निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाका अनुसार निर्वाचनमा १ हजार ७ सय ५३ मत खसेको थियो। प्रदेश १ अधिवेशनमा कांग्रेसका १ हजार ८ सय ५ जना मतदाता प्रतिनिधि थिए। ५२ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।
प्रदेश १ अधिवेशनमा कांग्रेसको संस्थापन र इतर समूह आआफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थिए। कांग्रेस प्रदेश समितिमा रहने १ सभापतिसहित ८ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको थियो।

 

Your Views
Related News