काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाडौं विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने र बिक्रि वितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता एवम् प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए।

प्रहरीले रौतहट चन्द्रनिगाहापुर-९ सन्तपुर घर भई हाल किर्तिपुर बस्ने १९ वर्षीय नरकुमार पुडासैनीलाई गत वर्षको माघमा बानेश्वरबाट हराएको प्र३-०२-०१३प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरि चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेका हो। थप अनुसन्धानको क्रममा न्युरोडबाट जुम्ला सिंङ्जा गाउँपालिका- ६ हाल किर्तिपुर बस्ने २० वर्षीय पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरेको छ। यहि मंसिर ८ गते बत्तिसपुतलीबाट हराएको बा.प्र.०२-०२२प ६५१८ नम्बरलाई परिवर्तन गरि बा.प्र-०२-०२५प १३९१ प्रयोग गरेको अवस्थामा यामाहाको आर-१५ मोटरसाइकलसहित बुढा पक्राउ परेका हुन्।

किर्तिपुर एरियाबाट काठमाडौंका २२ वर्षीय सन्तोष महर्जनसहित रौतहट गुजरा नगरपालिका- २ घर भई हाल सानोभर्याङ बस्ने ३४ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका- ३ घर भई हाल बानेश्वर बस्ने ३२ वर्षीय रवि कुमार कुशवाहा, उदयपुर घर भई हाल किर्तिपुर बस्ने कमलबहादुर बस्नेत र बारा गढिमाई घर भई किर्तिपुर बस्ने २२ वर्षीय रन्जितप्रसाद गुप्तालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पक्राउ परेका चौधरी यसभन्दा अघि पनि मोटरसाईकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन्। रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए।

त्यसैगरी किर्तिपुरबाट पक्राउ परेका रंजितप्रसाद गुप्ताले चोरी गरी ल्याएका मोटरसाइकलहरुलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेण्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखिएको भट्टराईको भनाई छ।
गुप्ता किर्तिपुरमा रहेको रंजित मोटरसाईकल वर्कसपका संचालक समेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ। पक्राउ परेका गुप्ता र  सन्तोष महर्जनले ग्राहकहरु खोज्ने र सस्तो मूल्यमा मोटरसाइकलहरु किनबेच गर्ने मुख्य भूमिका समेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ।

बरामद गरेका ७ थान मोटरसाइकलमध्ये एउटा यामाहाको आर-१५ र अन्य ६ ओटा २२० सिसिको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ। त्यस्तै गरी ईन्जिन तथा विभिन्न भागहरू काटेर टुक्रा पारेको अवस्थामा असोजमा ताहाचलबाट हराएको बा.प्र-०२-०१९प ९४९८ नम्बरको २२० सिसि पल्सर मोटरसाइकल समेत बरामद गरेको महाशाखाले जानकारी दिएको छ।

 

Your Views
Related News