काठमाडौं : नेपाली कांग्रेसले १४औं महाधिवेशनलाई भव्य र सभ्य बनाउने भएको छ । कोभिड महामारी नघटेकाले शक्ति प्रदर्शनभन्दा पनि सामान्य तर सभ्य ढंगले महाधिवेशन सम्पन्न गर्ने गरी विभिन्न समितिले तयारी अगाडि बढाएका छन् ।

मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्न तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ ।

हालसम्म तीन हजार आठ सय प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उनको भनाइ छ ।

अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ । महाधिवेशन अवधिभर प्रतिनिधिहरुलाई होटलसम्म आउन जान गाडीको व्यवस्था गरिएको छ।

सभास्थलबाट होटलसम्म जान सवारीसाधनको व्यवस्थापन गरिएको स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले जानकारी दिएका छन्। यसका लागि डेढ सय गाडी तयारी अवस्थामा राखिने उनले बताए ।

कोभिड संक्रमणलाई मध्यनजर गरेर कांग्रेसले हरेक प्रतिनिधिलाई स्यानिटाइजर दिने र अनिवार्य मास्कको व्यवस्था गरिएको छ। महाधिवेशन अवधिभरका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको नेता बस्नेतले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य परीक्षणका लगि स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ। वीर अस्पतालाई केन्द्रित गरेर कुनै प्रतिनिधि बिरामी भए उपचार गरिने छ।

कांग्रेसले महाधिवेशनमा एन्टिजेन टेस्ट गर्ने भएको छ। तर त्यसका लागि चिकित्सकको परामर्श अनिवार्य गरिएको छ।

 

Your Views
Related News