काठमाडौँ — आफ्नै नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाल पहिलोपटक सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगे । उनले आगामी निर्वाचनमा एकीकृत समाजवादी देशकै पहिलो शक्ति बन्ने दाबी गर्दै ओलीमाथि कटाक्ष गरे ।

‘सुदूरपश्चिममा केपी ओलीको पार्टी खत्तम भइसक्यो अनि प्रदेश २ मा हरिबिजोग,’ ओलीकै गृहनगर दमकमा आयोजित कार्यक्रममा उनले भने, ‘एक वर्षभित्रै नेकपा एस पहिलो पार्टी बन्छ ।’ नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले एमालेबाट आफ्नो बहिर्गमनलाई झापा विद्रोहको नयाँ रूपको संज्ञासमेत दिएका थिए । नेपाली कम्युनिस्ट आन्दोलन समाप्त पार्ने समूहको नेतृत्व एमालेले गरेको र बचाउने समूहको नेतृत्व समाजवादीले गरेको उनको दाबी थियो ।

नेता नेपाल गत कात्तिक २४ मा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा पुगेका थिए । त्यहाँ पनि उनको निसानामा ओली र एमाले नै थिए । उनले एमालेको ‘सूर्य’ मा ग्रहण लागेको र आफ्नो नेतृत्वको एकीकृत समाजवादीको भविष्य उज्ज्वल रहेको दाबी गरेका थिए । हेलिकोप्टरबाट डडेलधुरा पुगेका नेता नेपालले एमालेका जिल्ला अध्यक्ष तारा जोशीको नेतृत्वमा ठूलो समूहलाई समाजवादीमा प्रवेश गराए । ‘आउँदो चुनावमा केपी शर्मा ओली गुटको पत्तासाफ हुन्छ । आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहन्छ । पाँचै दलबीच सहमति भइसकेको छ,’ नेपालले भनेका थिए ।

नयाँ पार्टी बनाएसँगै नेता नेपाल संगठन विस्तारका लागि विभिन्न जिल्लाको ‘म्याराथन’ मा छन् । एकीकृत समाजवादीले सम्पूर्ण शक्ति संगठन निर्माणमा खर्च गर्न खोजिरहेको छ । नेपालसहित उक्त पार्टीका नेताहरूले एमाले र ओलीको कार्यशैलीप्रति प्रश्न उठाउने गरेका छन् । एमालेको मुख्य विरासत आफूहरूसँग रहेको दाबी नेपालले गर्दै आएका छन् । सुनसरीको इटहरीमा मंगलबार आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणीमा तिलाञ्जली दिइसकेको टिप्पणी गरे । ‘एमाले जमात अब क्रान्तिकारी रहेन । यसले कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन । मार्क्सवादको मूल्य–मान्यता र जनताको बहुदलीय मूल्य र मान्यतालाई नारायणी नदीमा बगाइसकेको छ ।’

स्वकीय सचिव मोहन गौतमका अनुसार मंसिरमा मात्रै अध्यक्ष नेपाल ११ जिल्ला पुगेका छन् । संगठन निर्माणकै क्रममा नेपालले पार्टी प्रवेश अभियान पनि चलाएका छन् । केही दिन अगाडि माओवादी केन्द्रका नेता रामचन्द्र झालाई नेपालले आफ्नो पार्टीमा प्रवेश गराएका थिए । प्रदेशसभामा आफ्नो बलियो उपस्थिति रहेको प्रदेश २ र सुदूरपश्चिममा नेपालको ध्यान बढी देखिन्छ ।

केन्द्रीय कमिटीले बनाएका संगठनात्मक योजना कार्यान्वयनका लागि अध्यक्ष नेपाल देश दौडाहमा निस्केको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल बताउँछन् । ‘हामीले पार्टीको संगठन विस्तार र प्रशिक्षण अभियान चलाइराखेका छौं । अहिले प्रदेश तहका प्रशिक्षणका कार्यक्रम अगाडि बढेका छन् । अहिलेसम्म तीनवटा प्रदेशमा प्रशिक्षण सकिएको छ,’ उनले भने, ‘अब वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश २ सकिएपछि जिल्ला तहको प्रशिक्षण कार्यक्रम हुन्छन् । त्यसकै लागि माधव कमरेड दौडिरहनुभएको छ ।’

एकीकृत समाजवादीको गत असोज पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले वैचारिक, राजनीतिक र सांगठनिक प्रकृतिका तात्कालिक कार्यभार तय गरेको थियो, जसमा संगठन निर्माण मुख्य थियो । बैठकले पार्टी कमिटीहरूको गठन तथा पुनर्गठन कार्यलाई केही समयसम्म अभियानकै रूपमा लैजाने तथा पार्टी सदस्यता वितरण अभियान चलाउने कार्ययोजना पास गरेको थियो ।

सबै कमिटीको गठन–पुनर्गठन र पार्टी सदस्यता वितरण अभियानपछि स्थानीय पार्टी कमिटीका अधिवेशन गर्ने एकीकृत समाजवादीको योजना छ । पार्टी सम्बद्ध जनवर्गीय संगठन, पेसागत संगठन, सामुदायिक संगठन र प्रवासी संगठन निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढाउने योजना बनाइएको छ । विगतमा ओलीले विधि पद्धतिका आधारमा भन्दा पनि व्यक्तिगत चाहनाका आधारमा स्वेच्छाचारी ढंगले चलाउने गरेको भन्दै नेता नेपालले आफ्नो पार्टीलाई नीति, विधि र पद्धतिका आधारमा संस्थागत ढंगले चलाउने दाबी गरेका छन् ।

 

Your Views
Related News