काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन्। शनिबार राति पौडेल निवास बोहोराटारमा पुगेर देउवाले भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुई जनाबीच समसामयिक राजनीति र कांग्रेस महाधिवेशनको बारेमा छलफल भएको बताइएको छ। भेटमा देउवाले पौडेललाई भने, ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस्।’ देउवाले आफूलाई सघाउनसमेत आग्रह गरेका छन्।

पौडेलले महाधिवेशनमा अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको देउवालाई जानकारी गराएको बताइएको छ। पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ। महाधिवेशनमा प्रतिष्पर्धामा रहेकाहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न र कांग्रेसलाई कांग्रेस जस्तो बनाउनुस्।’

१४ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित स्वतन्त्र रूपमा कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले प्रतिस्पर्धा हुने भएको छ। संस्थापनइतर समूहले शनिबारसम्मै साझा उम्मेदवारको पहल गरे पनि सफल हुन नसकेपछि सिंह र डा. कोइरालाको छुट्टाछुट्टै उम्मेदवारी परेको हो।

निकै चासोका साथ हेरिएको दुई महामन्त्री पदमा डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, प्रदीप पौडेल र डा. राजाराम कार्की उम्मेदवार बनेका छन्। डा. महत र पौडेल देउवा, शर्मा सिंह, डा. रिजाल र थापा डा. कोइराला अनि डा. कार्की निधिको प्यानलबाट अघि सरेका हुन्।

झन्डै ६ दशक सम्पूर्ण जीवन कांग्रेसकै राजनीतिमा समर्पित गरेका वरिष्ठ नेता पौडेलका लागि पार्टीको ‘फस्ट म्यान’ बन्नका लागि मैदानमा उत्रिने यो ‘अन्तिम’ अवसर थियो। समकालीन देउवा पटक–पटक प्रधानमन्त्री र पार्टी सभापति बनिसक्दा पौडेल जहिल्यै दोस्रो स्थानमै चित्त बुझाउन बाध्य छन्। १४औं महाधिवेशनमा त पौडेललाई आफ्नै टिमका सहयात्रीले साझा उम्मेदवार नमान्ने अड्डी लिए। शशांक कोइराला ‘लचिलो’ बने पनि शेखर कोइराला र प्रकाशमान सिंहले अड्डी कसे। त्यही कारण, पौडेलले सभापतिको उम्मेदवार नबन्ने घोषणा गरे।

शनिबार एक विज्ञप्ति जारी गर्दै पौडेलले चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको बताउँदै नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको बताएका थिए। उनले पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेको धारणा राखेका छन्। ‘प्रजातन्त्रका मूल्य, मान्यता र आर्दश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगें।’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछ। लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरि नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउने छन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन।’

उनले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको दाबी गरेका छन्।

 

Your Views
Related News