काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत निर्वाचनको बाँकी मत गणना बुधबार अपराह्नदेखि सुरु हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो।

निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले बुधबार अपरान्ह्देखि मत गणना सुरु गरिने जानकारी दिए। उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ। कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो। पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतदान भएको थियो।

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन्। गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हाजर ७३३ मत प्राप्त गरे। सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो। जसमध्ये ३५ मत बदर भएको थियो।

सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए। उनले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताए। उनले भने,’आजै अपराह्नबाट मत गणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ। हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ।’

कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए। एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मङ्सिर २४ गते भृकुटीमण्डपमा १४ औँ महाधिवेशन उद्घाटन भएको थियो। मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो।

 

Your Views
Related News