नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुँदा दलभित्र देखा परेको नयाँ समीकरणले उक्त दलको आन्तरिक राजनीतिलाई प्रभावित पार्न सक्ने टिप्पणी हुन थालेको छ।

पहिलो चरणको मतदानबाट सभापति पदको छिनोफानो हुन नसकेकपछि दोस्रो चरणको मतदानको परिणाम बुधवार सबेरै आउँदा स्पष्ट बहुमतसहित देउवा पार्टीको सर्वोच्च पदमा पुनः निर्वाचित भएका छन्।

कुल महाधिवेशन प्रतिनिधिमध्ये ५७ प्रतिशतभन्दा बढीले देउवालाई समर्थन गरेका थिए।

विगतमा कांग्रेसबाट फुटाएर देउवाले गठन गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकका नेताहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिले अन्तिम समयमा आएर साथ दिँदा उनको जित सहज भएको थियो।

पहिलो चरणमा सभापतिको उम्मेदवार बन्दा सिंह र निधिले नेतृत्व परिवर्तनको मुद्दा उठाएका थिए। तर अन्तत: उनीहरूले आफ्नो अडान छाडे।

संस्थापनको विपक्षमा रहेका भनिएका रामचन्द्र पौडेल मतदान प्रक्रियामा मौन बसेका थिए।

यद्यपि सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले कुल प्रतिनिधिमध्ये ३९ प्रतिशत भन्दा बढीको समर्थन प्राप्त गरे।

पुरानै नेतृत्वको निरन्तरताको प्रभाव कस्तो

पछिल्लो मत विभाजनको प्रभाव कांग्रेसको आन्तरिक राजनीति तथा दलले आगामी दिनमा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनका लागि तय गर्ने रणनीतिमा समेत पर्न सक्ने कतिपय विश्लेषकहरू बताउँछन्।

राजनीतिशास्त्री हरि शर्माले बीबीसीसँग कुरा गर्दै पार्टी भित्रको अर्को पक्षलाई साथमा लिएर अघि बढ्नु देउवाका लागि चुनौती हुन सक्ने बताए।

उनले भने, “शेखर कोइराला परीक्षण भइसकेका नेता होइनन्। चार वर्ष-पाँच वर्षदेखि निरन्तर उनले कोसिस गरे र त्यसले एक किसिमको फल दिएको छ। फेरि पनि संस्थापन र अर्को पक्ष हुनेवाला छ। त्यसमा उनले कसरी गर्छन् भन्ने हेर्नुपर्छ।”

गगन थापा –आदरणीय @SherBDeuba ज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।

पहिला पनि नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र कमजोर रहेको उल्लेख गर्दै शर्माले आगामी दिनमा पनि आधारभूत परिवर्तन हुने सम्भावना आफूले नदेखेको टिप्पणी गरे।

उनले थपे, “पार्टी भित्र घचघचाइरहने आवाज चाहिन्छ। अहिले जितेको नेतृत्वले कसरी हेर्छ र उ कति सहिष्णु हुन्छ भन्ने कुराले नेपाली कांग्रेसजस्तो राज्यमा जाने आकाङ्क्षा राख्ने र राज्य सञ्चालन गरिरहेको पार्टीलाई असर गर्छ।”

उनी थप्छन्, “मुलुकमा लोकतन्त्रको ढुकढुकी बचाउँछु भन्ने पार्टीको आन्तरिक लोकतन्त्रले बृहत्तर लोकतन्त्रलाई प्रभावित पार्छ।”

पार्टी रूपान्तरणबारे कस्ता प्रश्न

समाजिक सञ्जाल ट्विटरमा देउवालाई बधाई दिदैँ महामन्त्री पदका उम्मेदवार गगन थापाले पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने अपेक्षा राखेको जनाएका छन्।

उनले लेखेका छन्, “…पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।”

तर दोस्रो पटक निर्वाचित भएका देउवाको परीक्षण भइसकेका नेता भएको उल्लेख गर्दै उनको नेतृत्वबाट ठूलो आशा आफूले नराखेको शर्माले उल्लेख गरे।

ट्विटरमा भारतका लागि भूतपूर्व नेपाली राजदूत नीलाम्बर आचार्यले देउवा र कोइराला दुवैले जितेको धारणा राखेका छन्।

उनको भनाइ छ, “शेखर कोइरालाले सम्मान जितेका छन्। शेरबहादुर देउवाले सभापति पद। सभापतिका अन्य प्रत्याशीले दुवै कुरा हारेका छन्।”

आगामी तीनै तहका चुनावमा कांग्रेसलाई बहुमत दिलाउने नारा देउवाले महाधिवेशनमा दिएका थिए।

मत परिणाम आएपछि उनले आफूलाई विजयी गराउने सम्पूर्णलाई धन्यवाद दिएका छन।

बाबुराम भट्टराई-नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टी सभापतिमा पुन: निर्वाचित हुनुभएकोमा प्रम @SherBDeubaलाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना! वहाॅको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्; प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्;अग्रगमनकारी शक्तिबीच एकता होस्;थप शुभेच्छा!

पार्टीलाई एकताबद्ध बनाउने कस्तो प्रतिबद्धता

दलको महाधिवेशनका क्रममा स्थानीय तहदेखि केन्द्रसम्म नै फाटो देखा परेका धारणाहरू सामाजिक सञ्जालमा उठ्दै आएका छन्।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा भएको थियो

त्यसले सत्ताको नेतृत्व गरिरहेको दलको चुनावी राजनीतिमा असर पार्न सक्नेसम्मका धारणा व्यक्त भएका छन्।

चिकित्सक रामेश कोइराला ट्विटरमा लेख्छन्, “….काँग्रेसीजन! यो दलभित्रको चुनाव थियो र सकियो। अब यसकै तुस पालेर एक अर्कासँग बोलचाल बन्द गर्नेदेखि आगामी निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउनेसम्म चैँ नगर्नू ल!”

देउवा सभापतिमा चुनिएलगत्तै उनीनिकट नेता बालकृष्ण खाँणले अबको कार्यकालमा नेपाली कांग्रेसलाई थप सक्षम र सुदृढ गराइने धारणा राखेका थिए।

उनका अनुसार राजनीतिक सहमति र सहकार्यकै आधारमा मुलुकलाई अघि बढाएर स्थानीय र संसदीय निर्वाचनको प्रक्रियालाई देउवाले अघि बढाउनेछन्।

सभापतिमा निर्वाचित भएपछि देउवालाई उनको आफ्नै दल तथा अरू सत्ताधारी र विपक्षी नेताहरूले बधाई र शुभकामना दिएका छन्।

ट्विटरमा भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले देउवाको नेतृत्वमा सङ्घीय लोकतान्त्रीक गणतन्त्र बलियो बनेको र अग्रगामी शक्तिबीच एकता भएको हेर्न चाहेको उल्लेख गरेका छन्।

महाधिवेशनमा उपसभापतिका उम्मेदवार धनराज गुरुङले सभापति देउवाले राजनीतिका थोक विक्रेताहरूसँग सजग रहनुपर्ने सुझाव दिएका छन्।

 

Your Views
Related News