पुस महिनाको पहिलो कारोबार दिन नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन ३७.८७ अंक घटेर २३७६.७४ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.८८ अंक, फ्लोट इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९९ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि घटेको छ। यस दिन २२४ कम्पनीको ३७ हजार २३६ पटकको कारोबारमा २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ बराबरको ५३ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन बजारमा साढे ४ अर्बको शेयर कारोबार भएको थियो।

नेप्से ओरालो लागेपनि यस दिन नेपाल बङ्गलादेश बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ९.९९ प्रतिशत बढेर ३५४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन स्वाभिमान लघुवित्तको शेयरमूल्य ५.३५ प्रतिशत बढेको छ भने माउन्टेन इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यता घलेम्दी हाइड्रो, मैलुङ्ग खोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ९ करोड ४३ लाख १९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल बङ्गलादेश बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.६६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ३.०१ प्रतिशत घटेको छ भने व्यापार, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

 

Your Views
Related News