काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथि पुनःविचार गर्न आग्रह गरेका छन्। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमाथि पुनविचार गर्नुपर्ने बताएका हुन्।

क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीलाई संरक्षणन गर्नुपर्नेमा जोड दिए।

क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री अथकले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता व्यक्त गरे।

उनले आगमी दिनमा हुन गइरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिए।

त्यसक्रममा मन्त्री अथकले खेलाडीहरुको वर्गिकरण प्रक्रियाका विषयमा समेत चासो लिएका थिए। गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो ।

 

Your Views
Related News