काठमाडौं : यू-१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ। बंगलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रंगशालामा शुक्रबार भएको खेलमा  भुटानलाई  ४-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो। नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ।

नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १/१ गोल गरे। जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अंक जोडेको छ। नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अब नेपालले लिगको अन्तिम खेल भारतसँग यही पुस ४ गते खेल्नेछ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६-० गोलअन्तरले पराजित गरेको थियो। यसअघि भूटानले पहिलो खेलमा श्रीलंकालाई ५-० गोलले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग भूटान ६-० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३-० गोलअन्तरले पराजित भएको थियो। पाँचौंमा स्थानमा रहेको श्रीलंका लगातार तीन खेलमा हार बेहोर्दै अंकविहीन छ।

श्रीलंका उपाधि होडबाट बाहिरिएको छ। पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।

 

Your Views
Related News