बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले चालकसहित डोजर (स्काभेटर) पुरिएको छ । तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रघुगंगा गाउँपालिका–२ का अन्दाजी २७ वर्षीय भिमबहादुर खत्री स्काभेटरसहित पहिरोमा पुरिएका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताए ।

‘अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ,’ उनले भने, ‘सडक खनिरहेको अवस्थामा एक्कासी पहिरो खसेर पुरिएको हो ।’ प्रहरी निरीक्षक गुरुङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदुर र स्थानीयबासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन् ।

यसैगरी म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अन्दाजी ७७ वर्षीय गोरे थापा मृत भेटिएका छन् । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएको थापाको शव परीक्षणका लागि बेनी अस्पताल ल्याइएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि सोमबार बिहान ताकम पुगेको छ । सडक छेउमा हिँडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो ।

प्रत्यक्षदर्शीले गाडी नआउँदासम्म हिँडिरहेका थापा गाडी अगाडी पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीको ठक्कर हुनसक्ने अनुमान गरेका छन् । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पौडेलले सीसीटीभी फुटेज, शव परिक्षण प्रतिवेदन र प्रत्यक्षदर्शीको भनाइको आधारमा थापाको मृत्युको कारण पहिचान गर्न अध्ययन थालिएको बताए ।

 

Your Views
Related News