बुटवल : यातायात क्षेत्रमा काम गर्ने करिब दुई लाख मजदुर बेरोजगार बनेका छन् । कोरोना महामारीले यातायात क्षेत्रमा मन्दी लागेपछि मजदुरहरुको जागिर खोसिएको हो । यातायात क्षेत्रमा अहिले करिव ११ लाख मजदुर कार्यरत थिए । अधिकांशको पारिश्रमिक घटेको छ भने केही मजदुर पेशाबाटै बिमुख भएका हुन् । मजदुरको रोजगारी ग्यारेन्टी नहुदा मारमा पर्नुपरेको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारसंग यातायात क्षेत्र पुर्नस्थापनाको माग गरेको छ ।

कोभिडका कारण लामो समय सार्वजनिक यातायात सञ्चालनमा आएनन् । केही लगानीकर्ता समेत व्यवसायबाट पलायन भएका छन् । थोरै ज्यालामा काम गरिरहेका मजदुरहरु झन संकटमा परेका हुन् ।

मजदुर र व्यवसायकै संरक्षणका लागि राज्यले पुर्नस्थापना प्याकेज ल्याउनुपर्छ, स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले भने । यातायात क्षेत्रमा १० खर्ब लगानी रहेको भन्दै उनले लगानी सुरक्षा र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्न राज्यबाट विशेष प्याकेज ल्याउनु पर्ने माग गरे ।

मुलुकमा रोजगारी गुम्दा करिब ३ लाख चालकहरु खाडी मुलुक कतारमा मात्रै पुगेको संगठनले जनाएको छ । यातायात क्षेत्रको समस्या समाधानका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण स्थापना हुनुपर्ने माग छ ।

बुटवलमा शनिबार सम्पन्न नेपाल यातायात स्वतन्त्र मजदु्र संगठनको ११ औं राष्ट्रिय महाधिवेशनले श्रमिकको पुर्नस्थापना र सुरक्षा मागसहित ५ बुँदे प्रस्ताव पारित गरेको छ । महाधिवेशनले यातायात क्षेत्रको लगानी संरक्षणमा विशेष प्याकेज, दुर्घटना न्यूनिकरणमा सचेतना अभियान, उपचारमा पहुँच, यातायात प्राधिकरणको स्थापनाका लागि सरकारलाई दवाव दिने प्रस्ताव पारित गरेको हो ।

महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । भीमज्वाला राईको अध्यक्षतामा सर्बसम्म नेतृत्व चयन भएको हो । जसको पाँच जना उपाध्यक्षमा नवराज घिमिरे, जितबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र शाह, ठाकुरप्रसाद गैरे रहेका छन् । महासचिवमा केशव थापा (निरु), उपमहासचिवत्रयमा देवि भट्टराई, विष्णु पराजुली, खगेन्द्रबहादुर ओली छन् । त्यस्तै सरस्वती रिजाल, शंकर थापा, टिका भट्टराई, विष्णुबहादुर खत्री, राम कुमार ढुंगाना सचिव रहेको ३७ सदस्यीय केन्द्रीय कमिटि सर्बसम्मत रुपमा चयन गरेको छ । महाधिवेशन पुस ८ गतेदेखि १० गतेसम्म बुटवलमा भएको हो ।

 

Your Views
Related News