काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले रुपान्तरित नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने बताएका छन्। आइतबार कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी पार्टी निर्माण गर्न महाधिवेशनले भुमिका खेल्ने दाबी गरेका हुन्।

उनले भने, ‘रुपान्तरित नयाँ क्रान्तिकारी पार्टी निर्माणको चरणमा छौं। संगठनात्मक कर्मकाण्ड पूरा गर्न यो महाधिवेशन गर्न लागि राखेका छैनौं। आम जनताको अपेक्षा र आवश्यकता, नेपालको परिवर्तनको आवश्यकतालाई सम्बोधन गर्ने गरी भूमिका निर्वाहको तयारीका लागि महाधिवेशन गर्न लागिरहेका छौं। ’

उनले समाजवादउन्मुख राज्य व्यवस्था स्थापनाका लागि अघि बढ्नुपर्ने धारणा राखे। श्रेष्ठले भने, ‘राष्ट्रियताको सवालमा हामी कसैसँग झुक्दैनौं। संविधानको रक्षा गर्नुछ। संविधानलाई परिमार्जनसहित विकसित र परिस्कृत गर्नुछ। शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकता पुरा गर्नुछ। समाजवादउन्मुख राज्य व्यवस्था स्थापनाका लागि अघि बढ्नुपर्नेछ।’

उनले संक्रमणकालीन न्यायका कामहरु पूरा गर्नुपर्ने काम बाँकि रहेको बताए। जनताको जीवन फेर्ने आवश्यकता अझै पूरा नभएको भन्दै गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे। उनले भने, ‘माओवादी केन्द्रले लोकतान्त्रिक गणतन्त्र, समावेशीकरण, धर्म निरपेक्षता जस्ता एजेण्डा स्थापित गर्न प्रमुख भूमिका खेल्यो।’

 

Your Views
Related News