धनकुटा : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण धनकुटाका उच्च पहाडी भेगमा हिमपात भएको छ । मध्य पहाडी क्षेत्रमा वर्षा भइरहेको छ। छथरजोरपाटी गाउँपालिकाको हलहले पटेक डाँडा, नुनथला, धनकुटा र तेह्रथुमको सीमाक्षेत्र चित्रे, तेह्रथुमको वसन्तपुर, तिनजुरे मिल्के जलजले डाँडा र गुफा पोखरीलगायत क्षेत्रमा भारी हिमपात भएको त्यस क्षेत्रका स्थानीयले बताएका छन्।

हिमपातसँगै चिसो बढ्दा त्यहाँको जनजीवन प्रभावित बनेको छ । हिमपातकै कारण सिँधुवा मास्तिरको नुनथला डाँडाहुँदै चित्रे, वसन्तपुरसम्मको सडक अवरुद्ध भएको छ । छथरजोरपाटी गाउँपालिकाको जेसिवी डोजरले अवरुद्ध सडक खुलाउने काम भइरहेको गाउँपालिकाका इन्जिनियर दिवश पौडेलले बताए । उनका अनुसार सडक अवरुद्ध हुँदा नुनथलादेखि चित्रेसम्म यात्रुवाहक तथा ढुवानीका सवारी साधन अलपत्र परेका छन् ।

सिँधुवा र जोरपाटीका प्रहरी र ट्राफिक प्रहरी त्यस क्षेत्रमा खटिएका छन्।चिसोले दैनिक जीवन कष्टकर भएको सिँधुवाका स्थानीय व्यापारी नवनित खड्काले बताए । यो पटक बेलैमा हिउँ पर्दा त्यस क्षेत्रका किसान भने खुसी भएका छन् । यति बेला किसानले साग, आलु, मटरकोसा खेती लगाएका छन् । हिउँ पर्दा तरकारी बालीलाई पर्याप्त सिँचाइ पुग्ने किसानको भनाइ छ ।

 

Your Views
Related News