रौतहट : गत मंगलबार स्कार्पीयो जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । बुधबार मुस्लिम संस्कार अनुसार उनीहरूको सामूहिक अन्त्येष्टि गरिएको हो ।

रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडा नगरपालिका-१ जयनगरमा भारतीय नम्बर बिआर०५पिए६९५३ नम्बरको जिप दुर्घटना हुँदा एउटै टोलका ६ जनाको मृत्यु भएको थियो ।

गाँउकै छिमेकी शलाउदिनको छोरा शेख इमारानको बिहेमा जन्ती हिँडेका मध्ये १६ वर्षीय शेख नौसाद, २२ वर्षीय शेख शैनुल्लाह, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, ५५ वर्षीय मुसाफिर अन्सारी र ४५ वर्षीय शेख अबुलेसको दुर्घटनामा मृत्यु भएको थियो ।

नगरकटियाबाट गम्हरीयाको लागि जन्ती हिँडेको जिपमा ९ जना सवार रहेका थिए । गाडी अनियन्त्रित भएर सडकभन्दा २९ फिट तल हिलोमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य ३ जना अहिले उपचाररत छन् ।

अनियन्त्रित गाडी सडकभन्दा केही पर रहेको ३३ केभिएको बिजुलीको पोलमा ठोक्किएर तल हिलोमा झरेको थियो ।

नमाज पढेपछि ६ जनाकै शवलाई मस्जिदबाट झण्डै २०० मिटर पश्चिमतर्फ रहेको कब्रिस्तानमा लगिएको थियो । अन्तिम संस्कारमा भाग लिन ठूलो संख्यामा जिल्लाका मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधिहरू पुगेका थिए ।

६ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान गर्नुपर्ने र दोषीलाई तत्काल कारबाही गरे मात्रै पीडित परिवारले न्याय पाउने स्थानीय शेख दाउदले बताए ।

दुर्घटनामा ३ जना घाइते छन् । घाइते शेख अलफाजको वीरगंजमा उपचार भइरहेको छ भने शेख अमानत र शेख करिमुल्लाहको गरुडामा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताए । फरार रहेका चालकको खोजी भइरहेको उनको भनाइ छ ।

शोकमा बस्ती

रौतहटको गढीमाई नगरपालिकाको वडा नं. ३ गम्हरीयाका एउटै बस्तीका ६ जनाको दुर्घटनामा मृत्यु भएपछि गाँउ शोकमा डुबेको छ ।

बिहेमा जन्ती हिँडेकाहरू कहिल्यै नफर्किने गरी अस्ताएपछि गाउँ नै स्तब्ध भएको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताए ।

“गाँउलेहरुलाई आकाशनै खसे जस्तो भएको छ । एउटै गाँउका ६ जनाले ज्यान गुमाउँदा सबैलाई पीडा भएको छ” मेयर यादवले भने, “घटनापछि गाडीका चालक फरार रहेकोले प्रहरीले खोजी गरेर छानबिन तथा कानूनी कारबाही गर्नुपर्छ ।”

 

Your Views
Related News