लमजुङ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब हुने सबै चुनावमा गठबन्धन गरेर जान प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भइसकेको बताएका छन् ।

देउवाले नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सबै चुनावमा अहिलेको गठबन्धन एक भएर जाने बताएको अध्यक्ष नेपालको भनाइ थियो । नेकपा एकीकृत समाजवादीले बेंसीसहरमा शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले कांग्रेस सभापति एवं प्रधानमन्त्रीले नै चुनावमा मिलेर जाने भनेको बताए ।

अब राष्ट्रिय सभा चुनाव आउँदैछ । पालिकाको चुनाव, प्रदेश सभा, प्रतिनिधि सभा चुनाव आउँदैछ । अस्ति भर्खर प्रधानमन्त्री शेरबहादुर देउवाजीले नेकपा माओवादी केन्द्रको महाधिवेशनमा चुनावमा हामी मिलेर जान्छौं भनिसक्नु भएको छ । त्यो कुरा सुन्ने बित्तिकै हाम्रा बैरीहरूको सातोपुत्लो उडेको छ,’ नेता नेपालले भने ।

कांग्रेस सभापतिको कुरा सुन्नेबित्तिकै एमालेको होस् गुम भएको उनले बताएका थिए । अहिले एमाले हरिविजोग भएर रुँदै-कराउँदै हिँड्न थालेको र भुक्दै, गाली गर्दै हिँडिरहेको उनले आरोप लगाए । भुकेर, गाली गरेर एमलेले आफ्नो चरित्र र हैसियत देखाएको पनि उनले आरोप लगाए ।

‘अहिले हामी ५ दल सरकारमा छौं । ५ दल मिलेर चुनावमा सँगसँगै जान्छौं । हामी मोर्चाबन्दी गर्न गइरहेका छौं । अनि प्रचार के गर्छन् भने, एक्लै त आउन,’ उनले भने, ‘म सोध्न चाहन्छु, ०७४ सालमा एक्लै गएका थिए ओली जी ? किन गए प्रचण्डजीको शरणमा ? शरणमा गएको होइन हिजो पनि ? हिजो उनले गर्दा ठीक, आज हामीले मिलाउँदा बेठिक हुन्छ ?’ ओलीले कुप्रचार गरेको भन्दै खण्डन गर्न कार्यकर्तालाई उनले निर्देशनसमेत दिए । ‘जोसँग विचार मिल्छ हामी मिलेर अघि बढ्छौं । मिल्ने मिल्ने अगाडि बढ्ने हो । नमिल्नेहरू आफ्नो ढंगले हिँडुन्’ उनले भने ।

नेता नेपालले अहिलेको पार्टी एमाले, केपी ओलीले कब्जा गरेको पनि आरोप लगाए । ‘हामीले ०३२ सालमा कोके (कोर्डिनेशन केन्द्र) बनयौं, ३५ सालमा माले बनायौं, ०४७ सालमा एमाले बनायौं । अहिले ०७८ भदौ ९ गते नेकपा एकीकृत समाजवादी बनायौं, बनाउँदै आएका छौं’ उनले भने, ‘रायमाझीले कब्जा गरेको पार्टी पुष्पपालले नेकपा मार्स्कवादी बनाउनुभयो, मनमोहन अधिकारीले बनाउनुभयो, मोहनविक्रमजीले बनाउनुभयो । बनाएको पार्टी अगाडि बढ्यो । पुरानो पार्टी थन्किएर सडेर गलेर सिद्धिएर गए ।’ उनले एमाले अब सिद्धिनेवाला रहेको जिकिर गरे । ‘पुरानो सक्किनेवाला छ । नयाँ अब चम्किनेवाला छ । उदाउनेवाला छ । जनताको विश्वास गर्नेवाला छ’ उनले भने ।

उनले आफ्नो पार्टीमा लुटेराको काम नभएको र लुटेराहरू एमालेमा गए हुने पनि बताए । ‘लुटेरा अन्तै, के के भन्छन्, एमाले-बिमालेमा गए हुन्छ । इमान्दार मान्छेहरूलाई स्वागत छ । इमान्दार छन्, पिल्सिएका छन् । कमरेड फसिएछ भनिरहेका छन् । कस्तो मान्छेको संगतमा परिएछ भनिएका छन्’ उनले भने, ‘कस्तो बा.. बा.. बा.. गर्नु परको छ । कमरेड भन्नै पाइँदैन । बा भनेर पूजा गर्नु पर्‍याछ । पूजा गर्दै खुट्टा ढोग्नु पर्‍याछ । यस्तो पनि कम्युनिस्ट हो ?’ उनले केपी ओलीलाई प्रधानमन्त्रीको कुचीबाट सत्ताच्युत गरेको भन्दै बादशाहलाई घोडाबाट झारेको बताए ।

‘कस्ता–कस्ता ज्ञानेन्द्रलाई राजाबाट फाल्यौं ? अरु त के हो र ? हामीसँग जोरी नखोजे हुन्छ । जोरी खोज्नेको यस्तै ताल हुन्छ’ उनले भने । उनले केपी ओली नेता नभई अधिनायकवादी हुन पुगेको र सात्ताको मात लागेर अहंकारी, घमण्डी र तानाशाह भएको आरोप लगाए ।

उनले भनेका छन्, ‘हामीले यस्तो तानाशाहसँग पौंठेजोरी खेल्यौं । चुनौती दियौं । प्रधानमन्त्रीको कुर्सीबाट तल झारिदियौं । प्रतिगमनलाई पराजित गर्‍यौं । संविधान मिच्नेलाई चुनौती दियौं ।’ उनले पार्टीको विधान नमान्ने, विधिको पालना नगर्ने, दाशमात्रै सिर्जना गर्नेलाई निरंकुश भन्दै अहिले तानाशाह र निरंकुशको जमाना नभएको बताएका थिए ।

 

Your Views
Related News