डिएपी मल खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीसहित १२ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कम्पनीका प्रमुख  भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्करदीप बुढालगायत मल ढुवानी गर्ने ठेकेदार कम्पनी तथा परीक्षण गर्ने संस्थाका व्यक्तिहरूमाथि मुद्दा दायर गरेको हो ।

प्रत्येकलाई एक अर्ब ५३ लाख २२ हजार बिगो कायम गरिएको आयोगले जनाएको छ । सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारीहरु र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको डिएपी मललाई गुणस्तरयुक्त मल भनी प्रमाणित गरेको नेपाल इन्भाइरोमेन्ट एण्ड साइन्टफिक सर्भिस प्रालिमाथि पनि मुद्दा दायर गरेको छ ।

डिएपी मलको स्पेशिफिकेशन अनुसार माउस्चर १.५ प्रति हुनुपर्नेमा १२.४ प्रतिशत, नाइट्रोजन १८ प्रतिशत हुनुपर्नेमा १४.२ प्रतिशत, एमोकिल नाइट्रोजन १७ प्रतिशत हुनुपर्नेमा १३.६ प्रतिशत, फोसफोरस ४६ प्रतिशत हुनुपर्नेमा ४५.१ प्रतिशत वाटर सोलुवल फोसफेट ४१ प्रतिशत हुनुपर्नेमा ३३.१ प्रतिशत रहेको प्रमाणित नेपाल गुणस्तर तथा नापतौल विभागबाट भएको आयोगले जनाएको छ ।

गलत परीक्षण प्रतिवेदन बनाई भन्सार नाका तथा कृषि सामाग्री कम्पनी लिमिटेड कार्यालयमा पेस भएको देखिएको र सोही प्रतिवेदनका आधारमा आपूर्तिकर्तालाई कुल रकम ९० प्रतिशतले हुन आउने रकम एक अर्ब ५३ लाख २२ हजार ४०६ रुपियाँ ७२ पैसा भुक्तानी भइसकेको र सो बराबरको रकम हानि नोक्सानी भएको पुष्टि भएको हुन आएकाले आरोपितहरूलाई सजायको माग दाबी सहित आयोगले मुद्दा दायर गरेको छ ।


 

Your Views
Related News