काठमाडौं : हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोलले पराजित गर्दै तेस्रो जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलमा हिमालयन शेर्पालाई जित दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरेका थिए। सातदोबाटोका पिटर सेगुनले त्रिदेव गुरुङलाई फल गरेपछि हिमालयन शेर्पाले पेनाल्टीको अवसर पाएको थियो। जसलाई विश्वासले ४५औं मिनेटमा सदुपयोग गरेका थिए। खेलको इन्जुरी समयमा सातदोबाटोले पनि पेनाल्टीको अवसर पाएको थियो। हिमालयन शेर्पाका जीवन गुरुङले पेनाल्टी क्षेत्रभित्र मार्टिन अडेल्फे सिलो नान्गालाई फल गरेपछि सातदोबाटोले पेनाल्टी पाएको थियो। तर, सातदोबाटोका मार्टिनले त्यसलाई सदुपयोग गर्न सकेनन्। उनको प्रहारलाई हिमालयन शेर्पाका गोलरक्षक दीप कार्कीले विफल पारेका थिए। हिमालयन शेर्पालाई जित दिलाउन निर्णायक गोल गरेका विश्वास श्रेष्ठ प्लेयर अफ दी म्याच चुनिए। उनले १० हजार नगद पुरस्कार प्राप्त गरे।

जितसँगै हिमालयन शेर्पाले सात खेलमा ११ अंक जोडेको छ। हिमालयन शेर्पा लिगको पाँचौं स्थानमा पनि उक्लिएको छ । सातदोबाटोले सात खेलमा आठ अंक जोडेको छ। सातदोबाटो आठौं स्थानमा छ । कतार एयरवेजको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको लिगको सातौं चरणका खेल सम्पन्न हुँदा साविक विजेता मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ। मच्छिन्द्रले सात खेलबाट १७ अंक जोडेको छ। मच्छिन्द्रले पाँच खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ। यसैगरी दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबको १६ अंक छ। तेस्रो स्थानमा रहेको संकटाको १३ र चौथो स्थानको त्रिभुवन आर्मी क्लबको ११ अंक छ।

 

Your Views
Related News