धरान: प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान छिट्टै हुने बताएका छन्। उनले प्रतिष्ठानमा भएको आर्थिक अनियमितिाको सरकारले छानविन गरिरहेकाले दोषीउपर कडा कारबाही गर्ने बताए।

मंगलबार धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित धरान उत्सवलाई पब्लप्क उच्च माविको खेलमैदानमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बीपी प्रतिष्ठान धरानको मात्र नभएर प्रदेश १ र २ का जनाताको स्वास्थ्यसँग जोडिएको अग्रनी स्वास्थ्य संस्था भएकाले सरकार प्रतिष्ठान सुधारमा प्रतिबद्ध रहेको बताए।

उनले पछिल्लो समय धरान विकासका हिसाबले समेत पछाडि परेको गुनासो आएकाले धरानको विकासमा सरकारले सक्दो सहयोग गर्ने पनि बताए।

धरान उत्सवमा सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र धरानका मेयर तिलक राईले बीपी प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई बीपी प्रतिष्ठानको समस्या समाधान गरी तत्काल स्वास्थ्य सुधार गर्न माग गरेका थिए।
मुख्यमन्त्री राईले बीपी प्रतिष्ठान धरान देशकै अग्रनी सुविधा सम्पन्न स्वास्थ्य संस्था भएको भए पनि यहाँ उपचार नपाएर बिरामीहरु विराटनगर र काठमाडौंमा महँगा निजी स्वास्थ्य संस्थामा उपचार गर्न जान बाध्य भएको भन्दै प्रधानमन्त्रीको ध्यानकर्षण गराएका थिए।

धरान उत्सवमा आएका प्रधानमन्त्री देउवाले धरान ६ स्थित पानवारीमा फोहोरबाट उत्पादन थालिएको बायोग्यास प्लान्ट र कांग्रेस धरानको नवनिर्मित भवनको समेत शिलान्यास गरेका थिए। धरान उपमहानगरपालिकाले पुस २२ गतेसम्म धरान डे मनाउन तीन दिने उत्सवको आयोजना गरेको छ। उत्सवमा विभिन्न जातीय परिकारहरुका स्टल र सुलभ मूल्यमा दैनिक उपभोग्य बस्तु र सामाग्रीहरुको स्टल राखिएको छ।

 

Your Views
Related News