भारतीय प्रहरीले एउटा एपमार्फत ‘विक्रीमा रहेका’ भन्दै १०० जना मुसलमान महिलाको तस्बिर अनलाइनमा राखेको घटनाका सम्बन्धमा एक जना १८ वर्षिया युवती सहित तीन जनालाई पक्राउ गरेका छन्।

उक्त प्रकरणमा संलग्न रहेको आशङ्कामा दुई जना २१ वर्षका पुरुष र १८ वर्षकी महिलालाई पक्राउ गरेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

मुम्बईको प्रहरीले यो मामिलामा थप गिरफ्तारी हुनसक्ने उल्लेख गरेको छ।

मुम्बईका प्रहरी कमिस्नर हेमन्त नाग्रालेले अहिले नै कसले एप बनायो र त्यसको उद्देश्य के हो भनेर जानकारी सार्वजनिक गर्नु अलि चाँडै हुने बताए।

उक्त एपलाई वेब प्लेटफर्म गिटहबमा राखिएको थियो। चर्को आक्रोश व्यक्त भएपछि हाल त्यसलाई हटाइएको छ।

क-कसलाई पक्राउ गरिएको छ

पक्राउ परेका विशाल कुमार इन्जिनियरिङका विद्यार्थी हुन्।

मुम्बई प्रहरीको साइबर युनिटले दक्षिणी शहर बङ्लौरबाट विद्यार्थी कुमारलाई नियन्त्रणमा लिएको थियो।

उनलाई सोधपुछ गर्दा स्वेता सिंहको नाम आएको प्रहरीले बताएको छ।

उत्तरी राज्य उत्तराखण्डबाट त्यसपछि उनलाई पक्राउ गरिएको थियो।

बुधवार बिहान अर्का विद्यार्थी मयंक रावतलाई उत्तराखण्डबाटै पक्राउ गरिएको थियो।

ती तीन जनालाई के अभियोगमा पक्राउ गरिएको हो भन्ने पुष्टि भइसकेको छैन।

“अरू केही व्यक्तिहरूलाई सोधपुछका लागि थुनामा राखिएको छ। हामीले यो अनुसन्धानलाई एउटा निष्कर्षमा पुर्‍याउँछौँ,” महाराष्ट्रका कनिष्ठ गृहमन्त्री सतेज पटेलले बीबीसीसँग भने।

 

कैयौँ प्रमुख मुसलमान पत्रकारहरू र अभियानकर्ताहरूको तस्बिर उक्त ‘बुली बाइ’ नामको एपमा अनुमति बेगर राखिएको थियो र झुट्टा लिलाम बढाबढमा ‘बिक्री’ मा राखिएको थियो।

अनलाइन दुर्व्यवहारको निरन्तरता

यो अनलाइनमार्फत ‘लिलाम बढाबढ’ गराएर मुसलमान महिलाहरूको अपमान गर्न भएको दोस्रो प्रयास हो।

अघिल्लो वर्षको जुलाईमा एउटा एप र वेबसाइट ‘सुल्ली डिल्स’ नामक वेबसाइटले ८० भन्दा बढी मुस्लिम महिलाको उनीहरूले अनलाईनमा राखेका तस्बिर प्रयोग गर्दै प्रोफाइल बनाइदिएको थियो।

त्यसलाई उक्त दिनको ‘सबैभन्दा फाइदाको कारोबार’ का रूपमा उल्लेख गरेको थियो।

दुवै घटना वास्तविक कारोबारसँग सम्बन्धित थिएनन् तर त्यस्तो गतिविधिको उद्देश्य प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देखिएको बढ्दो हिन्दुवादी राष्ट्रवाद विरुद्ध आवाज उठाउने महिलाहरूलाई तल देखाउने र अपमान गर्ने रहेको देखिन्छ।

सुल्ली दक्षिणपन्थी हिन्दुहरूले मुसलमान महिलालाई खिस्सी गर्न प्रयोग गर्ने शब्द हो र बुल्ली अपमानजनक शब्द हो।

सुल्ली डिल्सको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएपनि कसैलाई पनि अभियोग लगाइएको थिएन।

बुल्ली बाइ एपबारेका खबर आएपछि सुल्ली डिल्स काण्डमा निशाना बनाइएकी कवि नबिया खानले सन् २०२१ मा आफूले गरेको उजुरीमा दिल्ली प्रहरीले कदम नचालेको बताइन्।

बुल्ली बाइ एपका कारण निशानामा परेका महिलाहरूका उजुरीका आधारमा प्रहरीले कम्तीमा तीन वटा राज्यमा प्रहरीले अनुसन्धान थालेको छ।

नाम उल्लेख नभएका एक जना वरिष्ठ प्रहरी अधिकारीले द इन्डियन एक्सप्रेसलाई चार जना व्यक्तिको ट्विटर खाता प्रयोग गरी फोटोहरू समाजिक सञ्जालमा राखिएको बताए।

त्यसमध्ये तीनवटा महिलाहरूले सञ्चालन गरेका खाता थिए।

बुल्ली बाइ एपमा रहेको महिलाको सूचीमा एक जना बलिउड कलाकार र बेपत्ता पारिएका एक भारतीय विद्यार्थीका ६५ वर्षिया आमा छन्।

उक्त झुठ्ठो लिलामीमा नाम राखिएका महिलाहरूले सामाजिक सञ्जालमा स्क्रिन सट र सन्देशहरू राखेपछि त्यसले मानिसहरूलाई स्तब्ध र क्रोधित बनाएको थियो।

अघिल्लो वर्ष सुल्ली प्रकरणबारे समाचार सम्प्रेषित गरेकी काश्मीरी पत्रकार क्वारातुलेन रेहबारले यसपटक एपमा नाम पर्दा घृणा महसुस भएको बताइन्।

को जोखिममा छन्?

सूचना तथा प्रविधि मन्त्री अश्विनी वैष्णवले शनिवार उक्त एप अपलोड गर्ने प्रयोगकर्तालाई गिटहबले ब्लक गरिदिएको र थप कारबाहीका लागि प्रहरीले साइबर निकायसँग समन्वय गरिरहेको बताए।

शिव सेना दलकी सांसद प्रियन्का चतुर्वेदीले त्यसको जवाफ दिदैँ उक्त प्लेटफर्म ब्लक गर्नु बाहेक त्यस्तो साइट बनाउने दोषीलाई कारबाही गर्नु महत्त्वपूर्ण रहेको बताएकी छन्।

गिटहबका एक जना प्रवक्ताले अनुसन्धानपछि उक्त कम्पनीले एउटा प्रयोगकर्ताको खातालाई निलम्बित गरिदिएको जनाएको छ।

साथै उसले आफ्नो नीतिको उल्लङ्घन गर्ने गतिविधि भएको पनि जनाएको छ।

सन् २०१८ मा एमनेस्टी इन्टरन्याश्नलले भारतमा अनलाइन दुर्व्यवहार सम्बन्धी एउटा प्रतिवेदन निकालेको थियो जसमा विरोधका आवाज उठाउने महिला त्यति नै दुर्व्यवहारमा बढी पर्ने सम्भावना रहेको उल्लेख गरिएको थियो।

धार्मिक अल्पसङ्ख्यक र पछाडि परेका जातिहरूका महिलामाथि अझ बढी जोखिम रहेको प्रतिवेदनमा जनाइएको थियो।

आलोचकहरूले मुसलमान महिलाहरूमाथिको अनलाइन दुर्व्यवहार हालैको ध्रुवीकृत राजनीतिक माहौलमा अझ खराब भइरहेको बताएका छन्।

 

Your Views
Related News