विराटनगर : विराटनगरको रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण भारतको मिरगञ्जमा रहेको पुल भासिएपछि आयात–निर्यात रोकिएको छ । परमान खोलाको मिरगञ्जमा रहेको पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात–निर्यात रोकिएको हो ।

जिर्ण अवस्थामा रहेको पुल भासिएपछि आयात निर्यात रोकिएको विराटनगर भन्सार कार्यालयलले जनाएको छ । पुल भासिएपछि भारतीय पक्षले बिहीबार दिउँसोबाटै आउ–जाउ गर्न रोक लगाएको थियो । भारतीय पक्षले रोक लगाएका कारण विराटनगरतर्फ आइरहेका मालबाहक सवारी साधन पुल पारी नै  रोकिएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आयात–निर्यात रोकिएपछि पुलका विषयमा अध्ययन गर्न टोली पठाइएको बताए । भारतीय पक्षसँग छलफल भएको बताउँदै उनले मिरगञ्ज पुलबाट आयात हुन नसके वैकल्पिक बाटो प्रयोग गरिने बताए ।

गत २०७४ साउन २९ गते पनि क्षतिग्रस्त बनेको सो पुल पुनः मर्तत गरेर सञ्चालन गरिएको थियो । पुनः भासिएपछि बिहीबार दिउँसोबाट ठूला मालबाहक सवारी साधन रोकिएको भारतीय पक्षले जानकारी गराएको छ ।

यसअघि पुल भासिदा सुनसरीको कोसी ब्यारेजको रुट प्रयोग गरिएको थियो । विराटनगर भन्सारका लागि आएका मालबाहक सवारीलाई कोशी ब्यारेज तर्फ डाइभर्ट गर्दा लागत खर्च बढ्ने उद्योगी राजेन्द्र राउतले बताए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत रहेका राउतले केन्द्र सरकारले मिरगञ्जकै बाटो खुला गर्नका लागि पहल गर्नुपर्ने बताए ।

‘मिरगञ्ज पुल बन्द हुँदा विराटनगर नाका सिल भएजस्तै हुन्छ, अर्काे रुट प्रयोग गर्दा लागत बढ्छ,’ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकार समेत रहेकार राउतले भने, ‘संघीय सरकारले तत्काल पहल गर्नुपर्छ ।’

पुलको अवस्थाको विषयमा अध्ययन गर्नका लागि मुख्यमन्त्री कार्यालयलले पनि चासो देखाएको उनले बताए ।

मीरगञ्जको पुरानो पुल नजिकै  चार लेन सडकलाई जोड्ने पक्की पुल पनि निर्माण भइरहेको छ ।  निर्माणको अन्तिम चरणमा रहेको पुलको काम चाँडै सके अर्काे रुट प्रयोग गर्नुपर्ने बाध्यता नरहेको व्यावसायी बताउँछन् ।

 

Your Views
Related News