विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टले विश्वभरि मानिसको ज्यान लिइरहेकोले यसलाई कमजोर नआँक्न चेतावनी जारी गरेको छ।

हालैका अध्ययनहरूले ओमिक्रोनले अन्य भेरिअन्टभन्दा कम मात्रामा मात्रै सङ्क्रमितलाई अस्पतालको उपचार चाहिने अवस्थामा पुर्‍याउने देखिएको जनाएका छन्।

तर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै सङ्ख्यामा मानिसहरू सङ्क्रमित हुँदा स्वास्थ्य प्रणालीहरू धेरै दबावमा परेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले गत साता विश्वभर सङ्क्रमणको सङ्ख्या ७१ प्रतिशतले बढेको र अमेरिकी महाद्विपमा १०० प्रतिशतले बढेको जनाएको छ।

विश्वभरका गम्भीर सङ्क्रमणको घटनामध्ये ९० प्रतिशत सङ्क्रमितले कोभिड खोप नलगाएको पनि डब्ल्यूएचओले बताएको छ।

“डेल्टाभन्दा ओमिक्रोन विशेषगरी खोप प्राप्त गरेका व्यक्तिहरूमा कम घातक देखिएको भए पनि यसको आधारमा त्यसलाई कम जोखिमयुक्त भनेर वर्गीकरण गर्नु हुँदैन,” बिहीवार डब्ल्यूएचओ प्रमुखले भने।

“पहिलेका भेरिअन्टले जस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पताल पुर्‍याउने र मार्ने गरिरहेको छ।”

“वास्तवमा सङ्क्रमणको सुनामी यति विशाल र तीव्र छ कि विश्वभरिका स्वास्थ्य प्रणालीलाई दबाव परेको छ।”

सङ्क्रामक

कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट अत्यधिक सङ्क्रामक छ र यसले पूर्ण मात्रा खोप लगाएका मानिसलाई पनि सङ्क्रमण गर्न सक्छ। यद्यपि सङ्क्रमण भएकाहरूलाई गम्भीर अवस्थामा पुगेर अस्पताल भर्ना भएर उपचार गराउनु पर्ने स्थिति रोक्न खोपले काम गरिरहेको बताइन्छ।

बिहीवार यूकेले कोरोनाभाइरसका थप १७९,७५६ सङ्क्रमण र २३१ मृत्यु पुष्टि गरेको छ। त्यहाँका केही अस्पतालहरूले कर्मचारी बिदामा भएको र कोभिडका दबावका कारण अवस्था गम्भीर भएको बताएका छन्।

अन्यत्र पनि अस्पताल पुग्ने बिरामीहरू बढिरहेका छन्। फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले ज्यानुअरी महिना देशका अस्पतालहरूका लागि कठिन हुने बताएका छन्।

उनले डेल्टा भेरिअन्टबाट सङ्क्रमितले आईसीयूको शैया ओगटेको र ओमिक्रोनका सङ्क्रमितले अस्पतालका अन्य शैया ओगटिरहेको बताएका छन्। फ्रान्समा बिहीवार थप २६१,००० सङ्क्रमण पुष्टि गरिएको थियो।

सर्बियाका राष्ट्रपति एलेक्सान्डर भुचिचले त्यहाँको स्वास्थ्य प्रणाली कडा दबावमा रहेको बताएका छन्। त्यहाँ बिहीवार ९,००० नयाँ सङ्क्रमण पुष्टि गरिएको थियो।

बिहीवार डब्ल्यूएचओका डा. टेड्रोसले गरिब राष्ट्रमा खोप पुर्‍याउन यसको समुचित विवरणको सुनिश्चितामाथि पुनः जोड दिएका थिए।

उनले अहिलेकै दरले जाँदा जुलाईसम्म ७० प्रतिशत नागरिकलाई खोप दिने डब्ल्यूएचओको लक्ष्यलाई १०९ देशले भेट्टाउन नसक्ने पनि बताए।

 

Your Views
Related News