काठमाडौं : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपीशर्मा ओलीको साथ खोज्न थालेका छन्। लामो सयमसम्म संसद् अवरुद्ध बनेको र अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा सत्ता गठबन्धन विभाजित बनेपछि देउवाले ओलीको साथ खोजेका हुन्। देउवा शनिबार बिहान १० बजे ओलीको निवास बालकोट पुगेर भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री देउवा संसद अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

देउवा-ओलीको भेटवार्तामा संसद्को गतिरोध, अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन र राजनीतिक निकास लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाले एमसीसीपारित गर्नुपर्ने प्रस्तावले सत्ता गठबन्धनको बैठकमा राखेपछि गठबन्धनभित्र तरंग ल्याएको छ। एमसीसीकै कारण गठबन्धनमा दरार नआओस् भनेर सरकारको न्यूनतम साझा कार्यक्रममा यो विषय समेटेको थिएन। तर, पछिल्लो समय देउवाले अमेरिकाको चाहनामा गठबन्धनका नेताहरुलाई दबाब दिएको बुझाइ गठबन्धनका अरु नेताको छ। एमालेले भने संसद्मा एमसीसी टेबल गरेर गठबन्धनको धारणा आएपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएको छ। गठबन्धन आगामी चुनावसम्मै प्रचण्ड, माधवकुमार नेपालले बताउँदै आएपनि कांग्रेसका केहि नेताहरु भने निर्वाचनमा कांग्रेस एक्लै अगाडि बढ्ने धारणा राख्दै आएका छन्।

ओलीले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको घोषणा गर्दा देउवाले खुलेर विरोध गरेका थिएनन्। नेकपाको साधारण सदस्यबाट ओलीलाई हटाएर प्रचण्ड संसदीय दलको नेता बनाएपछि प्रधानमन्त्री बन्ने प्रचण्डको तयारी थियो। तर विपक्ष दलका नेताबीच सहमति हुन नसकेपछि अन्तत : देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर संकलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए। सर्वोच्च अदालतको आदेशपछि भण्डारीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

यस अगाडि बिहीबार राष्ट्रपति भण्डारीसँगको भेटमा देउवाले ओलीसँग संसद सुचारु गर्नेबारे मध्यस्थता गरिदिन आग्रह गरेका थिए। सरकार सञ्चालन गर्न गठित राजनीतिक समन्वय समितिका संयोजक एवम् कांग्रेस नेता रामचन्द्र पौडेलले पनि ओलीलाई भेटेर संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए। उनले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन र राजनीतिक निकास दिनका लागि ओलीसँग आग्रह गरेका थिए।

एमालेले निरन्तर प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ। एमालेले कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ। एमालेले भदौ १ गते नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो। एमालेले सभामुखले राजीनामा दिनुपर्ने वा १४ सांसद्लाई पदमुक्त गर्नुपर्ने सर्त अगाडि सारेका छन्। देउवा र सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गर्दै आएको छ।

 

Your Views
Related News