नेपालमा थप ११ हजार ३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

बुधवार सार्वजनिक भएको सङ्ख्या अहिलेसम्म दैनिक पुष्टि भएका सङ्क्रमितको सर्वाधिक सङ्ख्या भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

उनले गत सातादेखि सङ्क्रमण निरन्तर बढ्दै गएको भन्दै थप सावधानी अपनाउन पनि अपील गरेका छन्।

अहिले देशभर झन्डै ४८ हजार सक्रिय सङ्क्रमित रहेका छन्।

तीमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकाका तीन जिल्लामा छन्।

पीसीआर शुल्क घटाइयो

बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले कोभिड-१९ को परीक्षण शुल्क घटाइएको जानकारी दिएका छन्।

लक्षण देखिएका व्यक्तिहरूलाई सरकारी प्रयोगशालाहरूमा निःशुल्क परीक्षण गरिने भन्दै उनले लक्षण नदेखिएका व्यक्तिले भने ८०० रुपैया शुल्क तिर्नुपर्ने बताए।

त्यसबाहेक निजी प्रयोगशालाहरूले विगतमा पीसीआर परीक्षण गर्दा २,००० रुपैयाँ लिने गरेकोमा अब त्यसलाई घटाएर १५ सय बनाइएको छ।

नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फेला परेपछि सङ्क्रमितको सङ्ख्या गत सातादेखि निरन्तर बढिरहेको छ।

पौष १८ मा देशभरि केवल २१६ जनामा कोभिड पुष्टि भएकोमा २५ गतेदेखि १,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको हो।

कोभिड महामारीको सम्भावित तेस्रो लहरमा दैनिक पुष्टि भएका सङ्क्रमितको सङ्ख्या पहिलो पटक मङ्गलवार १० हजार नाघेको थियो।

स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्दै गएकाले विगतमा भेला र सार्वजनिक कार्यक्रमहरूमा उपस्थितिका लागि तोकिएको सीमालाई अझ कडा बनाउने बताएको छ।

डा. अधिकारीले सिटामोल लगायतका औषधिको अभाव नरहेको बताए। अत्यावश्यक औषधिहरूको खरिद प्रक्रिया अघि बढाइएको पनि उनले उल्लेख गरे।

सङ्क्रमण ‘नयाँ चरणमा’

पत्रकार सम्मेलनमा इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले सङ्क्रमण नयाँ चरणमा प्रवेश गरेको बताए।

उनले यो पटकको लहर उत्कर्षतिर पुग्दै गरेको र आगामी साता २० हजारको हाराहारीमा सङ्क्रमित फेला पर्न सक्ने बताए।

माघको दोस्रो साता सकिएर तेस्रो साता लाग्दा गर्दा सङ्क्रमण स्थिर बन्दै जाने अपेक्षा गरिएको उनको भनाइ छ।

डा. पौडेलले भने, “स्थिर हुन चारदेखि छ हप्तासम्म लाग्न सक्छ भन्ने हाम्रो प्रक्षेपण छ।”

विज्ञहरूले अतिसङ्क्रमामक मानिएको ओमिक्रोनकै कारण सङ्क्रमण तीव्र गतिमा फैलिएको आशङ्का व्यक्त गरेका छन्। तर सरकारले ओमिक्रोनको सङ्ख्याबारे स्पष्ट विवरण दिएको छैन।

यसअघि डेल्टा भेरिअन्टका कारण महमारीको दोस्रो लहर नेपालमा देखिएको समयमा गएको वैशाखमा सङ्क्रमण उच्चबिन्दुमा पुगेको थियो।

त्यस बेला वैशाख २९ गते सार्वजनिक गरिएको २४ घण्टाको विवरणमा २०, ७८६ नमुना परीक्षण गर्दा ९,३०५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

अधिकारीहरूले सोमवार २४ घण्टाको अवधिमा १७ हजार आठ सय वटाभन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा झन्डै ४९ प्रतिशतमा कोभिड पुष्टि भएको बताएका थिए।

एन्टिजन विधिबाट गरिएका झन्डै पाँच हजार नमुना परीक्षणमा करिव ३१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो।

अरू तथ्याङ्क के छ

कुल २३,४०९ नमुना परीक्षण गर्दा ११,३५२ वटामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सक्रिय सङ्क्रमितमध्ये ४६,५०० जनाभन्दा बढी होम आइसोलेशनमा र १,४०० जनाभन्दा केही बढी संस्थागत आइसोलेशनमा रहेको सरकारले बताएको छ। आईसीयुमा १६९ जना र भेन्टिलेटरमा २८ जना बिरामी भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

मन्त्रालयका अनुसार १८ हजारभन्दा बढी पीसीआर परीक्षणमा ९,५०२ वटामा र ५,३०० भन्दा बढी एन्टिजन परीक्षणमा १,८५० सङ्क्रमण पुष्टि भएको हो।

काठमाण्डू उपत्यकाभित्र विगत २४ घण्टामा ६,२०० सय जनाभन्दा बढी सङ्क्रमित थपिएका छन्।

भक्तपुरमा ५७८, ललितपुरमा १,०१९ र काठमाण्डूमा ४,६६६ जना सङ्क्रमित थपिएको जनाइएको छ।

पछिल्लो २४ घण्टामा गरिएका परीक्षणमध्ये देशभरको औसत सङ्क्रमण दर ५२ दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर अधिकारीले जानकारी दिए।

‘त्यो हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमण दर हो,’ उनले भने।

स्वास्थ्य मन्त्रालयले बढ्दो सङ्क्रमणलाई ध्यान दिँदै धेरै जना भेला हुने कार्यक्रमहरू माघ मसान्तसम्म नगर्न आह्वान गरेको छ।

त्यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न र भौतिक रूपमा गर्नुपरे २५ जनासम्म मात्र उपस्थित हुने गरी एन्टिजन परीक्षण गराएर मात्रै गर्न उसले अपिल गरेको छ।

विभिन्न जात्रा र अन्य परम्परागत संस्कारहरू जस्तै विवाह, पास्नीहरूमा ५० जना भन्दा बढी उपस्थित नगराउन र प्रशासनको पूर्वस्वीकृति लिएर मात्रै आयोजना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ।

 

Your Views
Related News