नेपालमा क्रिप्टोकरेन्सीसम्बन्धी गतिविधि बढेको सङ्केत फेला परेको भन्दै नेपाल राष्ट्र ब्याङ्कले भर्चूअल मुद्राविरुद्धको कारबाहीलाई थप कडा बनाइने जनाएको छ।

नेपालमा गैरकानुनी घोषित क्रिप्टोकरेन्सीको प्रयोग वा कारोबार साथै त्यस सम्बन्धित “हाइपर फन्ड”मा लगानी गर्न प्रोत्साहित गर्ने गतिविधिहरू जानकारीमा आएपछि ब्याङ्कको ध्यानाकर्षण भएको अधिकारीहरूले बताएका छन्।

आइतबार ब्याङ्कले सार्वजनिक गरेको सूचनामा नेपालमा रहेका नेपाली तथा विदेशी साथै विदेशमा रहेका नेपालीले समेत भर्चूअल करेन्सीको कारोबार गर्न नपाउने जनाइएको छ।

“नेपालको अहिलेको सन्दर्भमा नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउँदैनन्। क्रिप्टोकरेन्सीमा लगानी गर्नु भनेको प्रतिबन्धित काम गर्नु सरह हो,” नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता डा. गुणाकर भट्टले बीबीसीसँग भने।

 

उनले हाल भइरहेको क्रिप्टोकरेन्सीको कारोबार “प्रलोभनकेन्द्रित” रहेको बताए।

“नेपालमा केही मानिसहरूले सर्वसाधारणलाई प्रलोभनमा पारेर प्रतिबन्धित क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाएको देखियो। यस्ता गतिविधिले आममानिसको बचतदेखि लगानी प्रभावित हुने र विदेशबाट आइरहेको रेमिट्यान्समा समेत भोलि नभित्रिने सम्भावना देखिएपछि सचेत गराएका हौँ।”

नेपालमा हालसम्म क्रिप्टोकरेन्सी कारोबार र प्रयोगलाई कानुनी मान्यता दिइएको छैन।

के हो क्रिप्टोकरेन्सी?

क्रिप्टोकरेन्सी भनेको भर्चूअल मुद्रा हो। यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ। भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।

यस भर्चूअल मुद्राको कुनै केन्द्रीय ब्याङ्क हुँदैन। अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन। संसारभरिका कम्प्युटरहरूमा रहेको राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।

क्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ।

सबै क्रिप्टोकरेन्सी “बल्कचेन” भनिने प्रविधिमा आधारित हुन्छन्। सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो। बिटकोइनको संस्थापन श्रेय सातोसी नाकामोतोलाई दिइएको छ। रोचक कुरा त के छ भने सातोसी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।

हालसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सीहरू अस्तित्वमा छन् र नयाँ क्रिप्टोकरेन्सीहरू थपिने क्रम जारी छ।

क्रिप्टोकरेन्सीलाई किन निषेध?

क्रिप्टोकरेन्सीको कारोबार गर्दा सर्वसा0रण ठगिने, अवैधानिक रूपमा रकम बाहिरिने र स्वदेशी पुँजी पलायन हुने भएकाले यसलाई कानुनी मान्यता नदिइएको नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता भट्टले बताए।

”क्रिप्टोकरेन्सीसम्बन्धी क्रियाकलापलाई अहिले हाम्रो कानुनले चिन्दैन। अनुमति नदिएको विषयमा लगानी गर्दा एक त कानुनको अवज्ञा भएको ठहर्छ। साथै सर्वसाधारण ठगिने सम्भावना पनि उच्च रहन्छ,” उनले भने।

भट्टका अनुसार चालु आर्थिक वर्षमा केन्द्रीय ब्याङ्कमा डिजिटल मुद्राको सम्भाव्यताको विषयमा अध्ययन भइरहेको छ। उनले यस विषयमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरीय अध्ययन भइरहेको जानकारी दिए।

“उक्त अध्ययन सकिएपछि नेपालमा यसको प्रयोगको सम्बन्धमा कुनै निष्कर्षमा पुगौँला। तर तत्काल क्रिप्टोकरेन्सी खरिदबिक्रीको अनुमति दिन सक्दैनौँ,” उनले कारण प्रष्ट्याउँदै भने, ”यसले समग्र अर्थतन्त्रमै असर पार्छ र वित्तीय प्रणालीलाई जोखिमतर्फ धकेल्छ।”

नेपालजस्तो पुँजी दुर्लभ वा न्यून पुँजी भएको देशबाट क्रिप्टोकरेन्सीमार्फत् पुँजी बाहिरिने सम्भावना रहेको उनले जिकिर गरे।

अहिले चीन, इजिप्ट, इराक, कतार, ओमान, बङ्गलादेशलगायत देशहरूमा क्रिप्टोकरेन्सी पूर्णरुपमा प्रतिबन्धित छ।

“केही देशले यसलाई मान्यता दिएको वा निष्कासन गर्ने अभ्यास अघि बढाए मात्र हामीले पनि डिजिटल मुद्राको प्रयोग बारे सोच्न सक्छौँ।“

एल साल्भाडोरले यसलाई मुद्रासरह कानुनी मान्यता दिएको छ। अन्य केही देशमा कानुनी मान्यता नपाए पनि क्रिप्टोकरेन्सीमार्फत् कारोबार सहज छ।

 

Your Views
Related News