संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस युक्रेनी राजधानीको भ्रमणमा रहेका बेला किएभमा दुईवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएका छन्।

उनले उक्त खबरबाट आफू स्तब्ध भएको बीबीसीलाई बताएका छन्।

किएभका मेयर भिताली क्लित्च्कोले क्षेप्यास्त्रले केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाएको र कैयौँ मानिसहरू घाइते भएको बताए।

घटनास्थलमा रहेका एकजना आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिरलाई पोस्ट गर्दै त्यो क्राइमियाबाट प्रहार गरिएको बताए।

राष्ट्रपति जेलेन्स्कीले उक्त आक्रमणले विश्व सङ्गठनप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको र त्यसप्रति कडा प्रतिवाद हुनु आवश्यक रहेको बताएका छन्।

उनले किएभ र अन्य शहरमा गरिएका क्षेप्यास्त्र हमलाले आफूहरूलाई आरामले बस्न नमिल्ने प्रस्ट पारेको उल्लेख गरेका छन्।

‘खिन्नता’

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरसले युक्रेनको द्वन्द्व रोक्न वा अन्त्य गर्न विफल भएकोमा आफ्नै सङ्गठनको सुरक्षा परिषद्को आलोचना गरेका छन्।

किएभमा बोल्दै उनले त्यो ठूलो खिन्नता, निराशा र क्रोधको कारक रहेको बताए।

उनले भने, “म प्रस्ट भन्न चाहन्छु आफ्नो सामर्थ्यका हिसाबले (त्यो) यो युद्ध रोक्न र नियन्त्रण गर्न सबै कुरामा विफल रह्यो।”

राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा १५ सदस्य राष्ट्र छन् र उक्त परिषद्को मूल जिम्मेवारी भनेको विश्वव्यापी रूपमा शान्ति र सुरक्षा कायम गर्नु रहेको छ।

तर गएको फेब्रुअरीमा रुसले अतिक्रमण सुरु गरे यता कदम चाल्न विफल भएको भन्दै युक्रेन सहितले उक्त निकायको आलोचना गरिरहेका छन्।

रुस उक्त परिषद्को पाँच स्थायी सदस्य राष्ट्र मध्ये एक हो र उक्त द्वन्द्वलाई लिएर ल्याइएका एक भन्दा बढी प्रस्तावलाई उसले ‘भिटो’ मार्फत निष्क्रिय तुल्याइदिएको छ।

गुटेरसले सुरक्षा परिषद्ले कदम चाल्न नसकेको भए पनि राष्ट्रसङ्घका अरू निकायहरूले काम गरिरहेको बताए।

उनले भने, “म यहाँ तपाईँहरूलाई हामी पछि हट्ने छैनौँ भन्नका लागि आएको हुँ। राष्ट्र सङ्घ भनेको १४ सय स्टाफ कर्मचारीहरू पनि हुन् जसले युक्रेनमा सहयोग, खानेकुरा, नगद र अरू प्रकारका सहयोग पुर्‍याउन मद्दत गरिरहेका छन्।”

उद्धार

उनले रुसी अतिक्रमण संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप भएको पनि बताए।

गुटेरसले संयुक्त राष्ट्रसङ्घले घेराबन्दीमा परेको मारिऊपोल शहरमा फसेका गैरसैनिकहरूको उद्धार सुनिश्चित गर्न राष्ट्रसङ्घले हर सम्भव प्रयास गर्ने बताए।

उनले गम्भीर छलफलहरू चलिरहेको भन्दै उद्धारको सम्भावनालाई कमजोर बनाउनसक्ने जोखिमका कारण विस्तृत विवरण दिन असमर्थ रहेको उल्लेख गरे।

राष्ट्रसङ्घका महासचिवसँगै बोलेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गुटेरसलाई युक्रेनी गैरसैनिकहरूलाई रुसमा ‘निर्वासनमा पठाइने’ अवस्था अन्त्य गर्न माग गरेका थिए।

 

Your Views
Related News