काठमाडौं । बजेटमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित संदीय छानबिन विशेष समितिको बैठक आज बस्दै छ । बिहान साढे १० बजे सिंहदरबारमा बस्ने बैठकमा हालसम्म प्राप्त तथ्यमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८०को बजेट प्रतिनिधि सभामा पेश गर्नुभन्दा अघिल्लो दिन राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न २२ असारमा संसदीय विशेष समिति गठन भएको थियो । सोही दिन माओवादी केन्द्रका नेता जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । काम सुरु गरेको मितिदेखि १० दिनको समय अवधि पाएको समितिले एक साता गुजारिसकेको छ ।

समितिका सचिव सुरेन्द्र अर्यालले हालसम्मको अध्ययनमा प्राप्त तथ्यहरुमाथि आज आन्तरिक छलफल गर्न लागिएको बताए । प्राप्त तथ्यमा विश्लेषण गरी निचोडमा पुगिने उनको भनाइ छ ।

छानबिन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । सांसद पुष्पा भूसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा मानबहादुर विश्वकर्मा आएका छन् ।

समिति सदस्यहरुले अर्थ मन्त्रालयका सचिव, राजश्व सचिव, बजेट महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, आईटी इन्जिनियर लगायतका अधिकारीहरुसँग सोधपुछ गरेको थियो । तर अहिलेसम्म कसैले पनि बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे मुख खोलेका छैनन् ।

बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषयमा अध्ययन गर्न सीसीटीभी फुटेज हेर्न खोजे पनि सो दिनको सीसीटीभी फुटेज नपाइएको एक सदस्यले बताए । यसअघि नै अर्थमन्त्रालयले १३ दिनभन्दा बढीको फुटेज रेकर्डमा नरहने भन्दै मेटिएको जवाफ दिएको थियो ।

समितिले जेठ १४ गते मध्यान्ह १४ बजेदेखि १५ गते मध्यान्ह १४ बजेसम्मको सीसीटीभी फुटेज माग गरेको थियो । अर्थ मन्त्रालयले भने सीसीटीभीको हार्डड्राइभ नै दिएको छ, जसमा असार महिनाको मात्र फुटेज छ ।

 

Your Views
Related News