काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। शुक्रबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन ओलीले देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिबद्ध भएर जनतामाझ जानुपर्ने धारणा राखेका हुन्।

उनले एमालेले गरेका काम र आगामी योजनालाई लिएर जनतामाझ जानुपर्ने आवश्यकता रहेको बताए। उनले मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने प्रष्ट्याए। भयरहित वातावरणमा निर्वाचन गर्न सरकारसँग वार्ता र कुराकानी, दबाब र निर्वाचनसँग सम्बन्धित निकायसँग छलफल गर्ने धारणा राखे।

उनले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्ने बताए। ओलीले अस्तित्व नै मेटाउँछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर विजयको सुनिश्चित गर्दै अघि बढ्ने दाबी गरे।

बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक, संगठानिक विषय लगायतका विषय समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। बैठकले निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली लगायतका विषय टुङ्गो लगाउने एमालेले जनाएको छ। एमाले केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्ने छ।

 

Your Views
Related News