प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयमा तालाबन्दी र हड्ताल नगर्न आग्रह गरेका छन् ।

शुक्रबार शंकरदेव क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तालाबन्दी, हड्ताल गरी अध्ययन अध्यापनमा अनावश्यक हस्तक्षेप नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेका हुन् ।

देउवाले भने, ‘तालाबन्दी गर्ने, हड्ताल गर्ने, अध्ययन अध्यापनमा अनावश्यक हस्तक्षेप गर्ने जस्ता कार्यले विश्वविद्यालयलाई फाइदा पुग्दैन । सम्बन्धित पक्ष बसेर समस्याको समाधान निकालिनुपर्छ । ’

गुणस्तरीय शिक्षाको विकासका लागि विश्वविद्यालयको भूमिका अग्रणी रहने देउवाले बताए । उनले भने, ‘विश्व बजारमा बिक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्छ । शैक्षिक क्षेत्रमा चुनौतिहरु छन् । पदाधिकारीहरु, प्राध्यापक, विद्यार्थी, अभिभावकबीच समन्वयमार्फत् संवाद खोजिनुपर्छ ।’

प्रधानमन्त्री देउवाले राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्याको रचनात्मक हल पहिल्याउन सबै प्रतिवद्धत हुनुपर्ने पनि बताए।

शैक्षिक क्षेत्रमा देखिने समस्या समाधानका लागि विद्यार्थी, प्राध्यापक लगायत सरोकारवाला सबै गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले व्यवस्थापन शिक्षाका लागि ठाउँ अभाव भएको विषयमा क्याम्पसलाई आवश्यक जग्गा उपलब्ध गराउने जिकिर गरे।

उनले शंकरदेव क्याम्पस ऐतिहासिक कलेज रहेको बताए ।

 

Your Views
Related News