दार्चुला : दार्चुलामा गए राती गएको बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। पहिरोमा अझै ७ जना बेपत्ता रहेको र उनीहरुको खोजी कार्ज जारी रहेको प्रहरीले जनाएको छ।

पहिरोमा परी मृत्यु हुनेमा  दार्चुला-२ मुल्ला मोडका  ७७ वर्षीय नन्दराम बोहोरा , नौगाड-२ दल्लेखका ६८ वर्षीय मोहन राम पार्की, दार्चुला-३ की ३५ वर्षीया मानमती कार्की, सल्लाकी ३२  वर्षीया जानकी ठगुन्ना र  नौगाड-१  की १५ वर्षीया धनुली ठगुन्ना रहेका प्रहरीले जनाएको छ।

पहिरोमा परेर घाइते भएकाको उद्धारमा हेलिकोप्टर प्रयोग गर्न गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई निर्देशन दिएका छन्। उनले घाइतेको उपचार, राहत र पुनस्थापनामा कुनै कसर बाँकी नराख्न प्रशासनलाई भनेका छन्।

गृहमन्त्रीको निर्देशनपश्चात गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, विपद् व्यवस्थापन महाशाखा हेर्ने सहसचिव प्रदीप कोइरालाले नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पठाइएको छ।

घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यले जानकारी दिए। उनका अनुसार शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ ।  हालसम्म ५ जनाको शव भेटिएको ७ जना बेपत्ता रहेको र ८ जना घाइते भएका उनले जानकारी दिए। घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको डिआइजी आचार्यले बताए।

बाढीले लास्कु क्षेत्रका ४, बांगाबगर क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालय पूर्णरुपमा क्षति भएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको प्रहरीले जनाएको छ । बाढीले पार्किङमा राखेका ५ बोलेरो जीप बगाएको छ, भने १ ट्याक्टर र १ अल्टो कार बगाएको प्रहरी जनाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतले खोज तथा उद्धार गरिरहेका छन् ।

 

Your Views
Related News