धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेका हो । तुर्माखाद तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका छन् ।
घाइते भएका ११ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये ८ जनाको जिल्ला अस्पताल अछाम र तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमापर्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको सहायक प्रजिअ रिजालले जानकारी दिए ।
अविरल वर्षापछि अछाममा ठूलो जनधनको क्षति गरेपनि विस्तृत विवरण प्राप्त भइसकेको छैन । अहिले बेपत्ताहरुको खोजी र घाइतेको उद्दारको काम भइरहेकाले क्षतिको विवरण संकलन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।
 

Your Views
Related News