काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। कतार एयरलायन्सको विमानबाट काठमाडौं आइपुगेका उनी विमानस्थलबाटै पक्राउ परेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनले अब कानुनी प्रक्रिया अगाडि बढ्ने बताए।

 

जबर्जस्तीकरणी आरोप लागेका क्रिकेटर लामिछाने आज नेपाल आइपुग्ने सामाजिक सञ्जालबाट जानकारी गराएका थिए। बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भनिए पनि मौसम प्रतिकूलताका कारण केही समय ढिला भएको थियो।

‘मैले वाचा गरेअनुसार सम्बन्धित निकायसामु आज आत्मसमर्पण गर्दैछु। म कतार एयरलायन्सको विमानबाट विहान १० बजे काठमाडौं अवतरण गर्दैछु। आत्मसमपर्ण गर्नेबारे मैले लिखितरुपमै प्रहरीलाई जानकारी गराएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए।

उनले प्रहरीलाई हरेक पाइलामा सघाउने वाचा गरेका छन्। प्रहरीसामु आत्मसपर्मण गर्दैगर्दा उनले आफ्नोतर्फबाट अधिवक्ता सरोजकृष्ण खनाललाई उक्त प्रक्रियामा सघाउन आग्रहसमेत गरेका छन्।

नाबालिगलाई जबर्जस्तीकरण गरेको आरोप लागेपछि नेपाल क्रिकेट संघले उनलाई कप्तानको जिम्मेवारीबाट निलम्बन गरेको थियो। सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप आफू विचलित भएको र आइसोलेसनमा बसेको यसअघि जानकारी दिएका थिए।

लामो समयसम्म पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको थियो।

 

Your Views
Related News