चितवन : लगातारको वर्षाका कारण नारायणीको सतह बढेको छ। नारायणीमा बाढी आएपछि बाढीले सतर्कताको तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान सात बजे  दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो।

नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ। नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ। देवघाट मापन केन्द्रले गरेको मापनअनुसार पानीको बहाब सात दशमलव चार मिटर पुगेको छ।

सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ। देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको संकेत मानिन्छ। नारायणीमा पानीको बहाब यस वर्षकै उच्च रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी गराएको छ।  नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी किनारका बस्ती जोखिममा छन्।

 

Your Views
Related News