भक्तपुर : नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभा सदस्यमा भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन्। बिहान ११ बजे मध्यपुर थिमिको शंखधर चोकमा भेला भई नयाँ थिमिबाट पुरानो थिमि हुँदै मध्यपुर थिमिको बोडेस्थित कृषि विकास तालिम केन्द्रस्थित क्षेत्र नं २ निर्वाचन कार्यालयमा दलबलसहित पुगेर बस्नेतले उम्मेदबारी दर्ता गराएका।

आचारसंहिता अनुसार बाजागाजा लिएर उम्मेदवारी दर्ता गर्न नपाउने भएपछि झाँक्रि लिएर उम्मेदवार दर्ता गराउन पुगेका हुन्। निर्वाचनमा उम्मेदवारी दिनका लागि कुनै बाजा लान पाइँदैन।झाँक्रीको डम्फु बजाउन लगाउँदै उम्मेदवारी दर्ता गराउन पुगेका थिए।

निर्वाचन आचारसंहिता अनुसार २५ जना भन्दा बढी भेला हुन पाइँदैन तर बस्नेत भने सयौं कार्यकर्ताका बीच उम्मेदवारी दर्ता गर्न पुगेका थिए।उम्मेदवारी दर्ताका क्रममा सहभागीहरुले महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावादलगायतका नारा घन्काएका थिए।

यता यस क्षेत्रमा नेपाली कांग्रेसले दुई बजे शंखधर चोकमै भेला भई उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय गरेको छ।सता गठबन्धनबाट कांग्रेसका जिल्ला पार्टी सभापति दुर्लभ थापाले उम्मेदवारी दिँदै छन्।

नेपाल मजदुर किसान पार्टीले एक बजे थिमिकै चपाचोमा भेला भई उम्मेदवारी दिने कार्यक्रम तय गरेको छ।यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै हो।पछिल्लो स्थानीय निकायको निर्वाचनमा पनि यो क्षेत्रमा कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा भएको थियो। तर एमालेका मेयर बासुदेव थापा कांग्रेसका मेयर उम्मेदबार निशान ढुंगेललाई झिनो मतान्तरणले पराजित गरी विजयी भएका थिए ।

यो क्षेत्रमा कांग्रेस र एमालेको जितमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्टिय प्रजातन्त्र पार्टी निर्णायक हुने देखिन्छ।तर नेपाल मजदुर किसान पार्टीले जितकै लागि सिद्धान्तहिन एकता नगर्ने भन्दै आएकोले उसको आफ्नै छुटै उम्मेदवारी दिने निश्चित छ।यस हिसाबले राष्टिय प्रजातन्त्र पार्टीको समर्थन जता हुन्छ उसैको जित हुने विश्लेषण छ।

अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा भने एमालेकै महेश बस्नेत भारी मत अन्तरले विजयी भएका थिए।उक्त बेला कांग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो।त्यसबेला टुरिष्ट उम्मेदबार उठाएको भन्दै कांग्रेसबाटै ठूलो आलोचना भएको थियो।

 

Your Views
Related News